साउन २७, काठमाडौं । ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वको टोखालाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास सरकारका वरिष्ठमन्त्री, संस्कृतिविद् र जनप्रतिनिधिले जोड दिएका छन् ।
टोखा संस्कृति सम्पदा संरक्षण मञ्चले आयोजना गरेको ‘संस्कृतिविद् एवं वाङ्मय शताब्दीपुरुषको अभिनन्दन तथा सांस्कृतिक संरक्षित क्षेत्र टोखाको कार्ययोजनापत्र सार्वजनिक कार्यक्रम’मा उपप्रधानमन्त्री ईश्वर पोखरेलले टोखाको विकासमा सबै एकजुट हुनुपर्ने बताए । “निर्वाचनको बेलामा राजनीतिक गरौँ, संस्कृति संरक्षण र टोखाको समग्र विकासका लागि एकजुट बनौँ,” उनले भने ।
सोही क्षेत्रका सांसदसमेत रहेका रक्षामन्त्री पोखरेलले टोखाको समग्र विकासका लागि एकीकृत योजना आवश्यक रहेको बताए । “टोखाको विकासका लागि एकीकृत योजना प्रस्तावका रुपमा ल्याउनुहोस्, उक्त योजनाको सम्बोधनको बाटोमा म लाग्नेछु,” उनले भने । टोखामा पूर्खाले बनाएको इतिहासको रक्षा गर्दै हामीले भविष्यका सन्ततिका लागि गर्व हुने काम गर्नुपर्ने उनको भनाइ थियो ।
अभिनन्दित शताब्दी पुरुष जोशीले टोखा संस्कृतिको संरक्षण गर्दै पर्यटनको विकास गर्ने उत्तम थलोका रुपमा रहेको बताए । “उपत्यकाको संस्कृति सम्पदाको विकासमा टोखाले महत्वपूर्ण भूमिका खेलेको छ,” उनले भने ।
उनले मेचीदेखि महाकालीसम्मका सांस्कृतिक विविधतालाई एकतामा रुपान्तरण गर्न सके संस्कृतिको विकास र विस्तारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै भने, “मैले पाएको सम्मान नेपालको संस्कृति र मौलिक कलाको विकासका निम्ति हो ।”
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको विकासका लागि नगरपालिकाले विभिन्न योजना बनाएर अगाडि बढेको उल्लेख गरे । विसं २०७५ असार १० मा नगरपालिकाको नीति तथा कार्यक्रममा टोखालाई सांस्कृतिक संरक्षण क्षेत्र घोषणा गरिएको बताउँदै यसलाई नमूना नगरपालिका बनाउन सहकार्यको खाँचो औँल्याए ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले टोखाभित्रका तलेजु, मुस्कानेश्वर महादेव र नारायण मन्दिरको पुनःनिर्माणका लागि विभागले सहयोग गरिसकेको बताउँदै अन्य पुरातात्विक सम्पदाको पुनःनिर्माणमा पनि सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।
मञ्चका अध्यक्ष मनिराज डङ्गोल, टोखा–२ का वडाध्यक्ष दीपकराज जोशी, समाजसेवी हीराकाजी महर्जन लगायतले टोखाको महत्व सरकारले बुझ्न नसक्दा अरु क्षेत्रको तुलनामा पछाडि परेको बताए ।
सोअवसरमा टोखा क्षेत्रको संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरिएको थियो । पुरातात्विक महत्वले धेरै पुरानो रहेको टोखा चाकुका लागि प्रख्यात क्षेत्र हो । यहाँ पिगंण धः, नारायण मन्दिर, शिलास्तम्भ, गणेश मन्दिर, भीमसेन मन्दिर, सङ्कटा माई, चण्डेश्वरी मन्दिर, माथेश्वर मन्दिर लगायत पुराना मठमन्दिर छन् ।
यस्तै कुमारी घर र विभिन्न समयमा मनाइने जात्राले पनि टोखा सांस्कृतिक रुपमा धनी मानिन्छ । बूढानीलकण्ठ नजीक धोबीखोलामा फेला परेको ३० हजार वर्ष पुरानो पाषाण उपकरणले पनि टोखा वरिपरिको क्षेत्रमा प्राचीन कालदेखि नै मानवबस्ती भएको अनुमान गर्न सकिन्छ ।
शिवदेव र अंशुवर्माको संयुक्त शासनकालमा जारी गरिएको संवत् ५१९ को शिला अभिलेखानुसार त्यतिबेला मानव बसोबासस्थल र मानवजीविकोपार्जनका लागि अत्यावश्यक कुलो र सुरक्षाचौकी समेत व्यवस्था गरिएको उल्लेख छ ।
रासस
प्रतिक्रिया