साउन २२, सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जाजरकोटका पहिरोपीडितलाई राहत वितरण गरेका छन् ।
भेरी नगरपालिका–३ ठाँटी बजार खलंगा जाजरकोटमा आइतबार बिहान पहिरोमा परी ज्यान गुमाएका मृतकका आठ परिवारलाई घटनास्थलमै पुगेर कानूनमन्त्री भण्डारीले प्रतिपरिवार २५ हजार नगद र खाद्यान्न वितरण गरेका हुन् ।
राहत वितरण गर्दै मन्त्री भण्डारीले पीडित परिकारको तत्काल व्यवस्थाका लागि १० हजार थप्ने र उनीहरुको पुनःस्थापना नहुञ्जेल खाद्यान्न सामग्री उपलब्ध गराउने बताए । उनले घटनास्थलमा ज्यान गुमाएका मृतकका बालबालिकाको निःशुल्क पठनपाठन गर्ने व्यवस्थाका लागि पहल गर्ने जनाए ।
पहिरोपीडित परिवारलाई एक लाख
जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुँदै मन्त्री भण्डारीले विपद् जोखिमका लागि पूर्वतयारी गर्न समितिलाई निर्देशन दिए ।
त्यस्तै, सदरमुकाम आसपासका उच्च जोखिममा रहेका घर तथा बस्ती पुनःस्थापनाका लागि विस्तृत प्रतिवेदन तयार गर्न समितिलाई निर्देशन दिइएको मन्त्री भण्डारीले बताए । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले मृतक परिवारलाई जनही एक लाख दिने निर्णय गरेको जनाइएको छ ।
मुख्यमन्त्री शाहीद्वारा समवेदना प्रकट
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भेरी नगरपालिका–३ जाजरकोट खलंगामा आइतबार बिहानको पहिरोमा परी एकाघरका चारसहित आठ जनाको मृत्यु, एक बेपत्ता र एकजना घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
मुख्यमन्त्री शाहीले एक शोक वक्तव्य जारी गर्दै सो घटनाप्रति दुःख व्यक्त गरेका हुन् । उनले पहिरोमा परी ज्यान गुमाएका दिवंगत आत्माहरुमा श्रद्धाञ्जलि, पीडित परिवारजनमा समवेदना प्रकट तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
पहिरोमा बेपत्ता नागरिकको खोजी कार्य तीव्र, उद्धार तथा पुनः स्थापनाको कार्यलाई प्रभावकारी बनाउनसमेत सम्बन्धित निकायलाई उनले निर्देशन दिएका छन् ।
रासस
प्रतिक्रिया