प्रकाश धौलाकोटी
साउन १८, तेह्रथुम ।
पर्यटन प्रवद्र्धनका लागि तेह्रथुमको छथर गाउँपालिकाले ‘प्रधानमन्त्री राष्ट्रिय उद्यान’ निर्माण गर्ने भएको छ । गाउँपालिकालाई जिल्लाकै नमूना गाउँपालिका बनाउने लक्ष्यसहित अघि बढेका जनप्रतिनिधिले गाउँको पर्यटन प्रवद्र्धनका लागि उक्त उद्यान निर्माण गर्ने योजना अघि सारेका हुन् ।
उक्त गाउँपालिकाको आर्थिक वर्ष २०७५/७६ को बजेटबाट उद्यान निर्माणको काम थाल्ने गरी बजेटसमेत विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । उद्यानमा नेपालका हालसम्मका सबै प्रधानमन्त्रीको स्तम्भ निर्माण गरी उनीहरूको कार्यकाल र योगदानको विवरण राखिनेछ ।
उद्यानभित्र आकर्षक बोट विरुवा र पूर्वाधारसमेत तयार गरी गाउँपालिकालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने ध्येयले उद्यान निर्माणको योजना बनाइएको उनले बताए ।
गाउँपालिकाले आगामी तीन वर्षमा निर्माण पूरा गर्ने गरी पहिलो वर्ष १० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।
उद्यान निर्माणका लागि पहिलो वर्ष डिपीआर तयार गरी काम शुरु गरिने प्रवक्ता नेपालीको भनाइ थियो । गाउँपालिकामा धार्मिक र ऐतिहासिक महत्वका स्थल भएपनि यस्तो प्रकृतिको ऐतिहासिक उद्यान कतै पनि निर्माण नभएकाले उद्यान निर्माणको योजना अघि सारिएको गाउँपालिकाका अध्यक्ष लिम्बूले बताए ।
गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा उक्त उद्यानका लागि ९० लाख विनियोजन गरेको छ । पुँजीगततर्फको बजेटबाट गाउँपालिकाले पर्यटन क्षेत्रका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेको हो । गत वर्ष गाउँपालिकाले पर्यटन क्षेत्रमा ४० लाख मात्रै खर्च गरेको थियो ।
गाउँपालिकाले भ्यू–टावर निर्माण, साततले धामको पूर्वाधार विकास, च्याङलुङ गुफा, पिकनिक स्थल, चिल्डे«न पार्क, सहिद पार्क र भ्यू–पार्क निर्माण लगायत योजनाका लागि ९० लाख विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता नेपालीले जानकारी दिए ।
शुक्रबारे बजारमा बल्ल टेलिफोन
छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा सात वर्ष अघिदेखिको पहलमा बल्ल टेलिफोन जडान गरिएको छ । सञ्चारको बढ्दो विकास हुँदा समेत टेलिफोन नपुगेको शुक्रबारे बजारमा गाउँपालिकाको पहलमा ल्यान्डलाइन टेलिफोन जडान गरिएको हो ।
गाउँवासीको सुविधालाई लक्षित गरी उक्त टेलिफोन जडान गरिएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । पहिलो चरमा गाउँपालिकाको केन्द्रमा रहेको शुक्रबारे बजार क्षेत्रमा ३५ वटा टेलिफोन र १७ वटा एडिएसएल इन्टरनेट सेवा जडान गरी टेलिकमले सेवा शुरु गरेको छ ।
अहिले १५ वटा लाइन जडानको प्रक्रियमा रहेको नेपाल टेलिकम लेखा कार्यालय धनकुटाका प्राविधिक रिजेन्द्र दुलालले बताए । बर्षौँदेखिको जनप्रतिनिधिको सक्रियतामा फोन जडान भएपछि बजारमा खुलेका सरकारी तथा गैसरकारी कार्यालयलाई समेत सहज भएको छ ।
मोवाइलको सेवा भरपर्दो नहुने र ल्याण्डलाइन फोन समेत नभएका कारण कठिनाइ भोग्दै आएका यहाँका बासिन्दालाई उक्त फोन सेवाले सहज बनाएकोे स्थानीय बजार व्यवस्थापन समितिका अध्यक्ष नारायण सुब्बाले बताए । फोनसँगै एडिएसएलको इन्टरनेट सेवा समेत पाइने भएपछि बजारवासी हर्षित छन् ।
रासस
प्रतिक्रिया