२३ कार्तिक २०८१, शुक्रबार | Sat Nov 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकाका पाँच नगर प्रमुखको भेला, चारबुँदे निर्णय सार्वजनिक



 

साउन १३, भक्तपुर । भूकम्पपछिको ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माणका बारेमा काठमाडौं उपत्यकाका ऐतिहासिक सम्पदा रहेको पुराना पाँच नगरपालिकाहरुको विशेष छलफलसहित चारबुँदे निर्णय गरेका छन् ।

आज इतिहास मै पहिलो पटक नगरपालिकाबीच सम्पदाको संरक्षण, पुनःनिर्माण र विकासका लागि नगरप्रमुखहरुले एकै ठाउँमा भेला भई गम्भीर छलफल गरी भएको चारबुँदे निर्णय सार्वजनिक गरेका हुन् ।

भक्तपुर नगरपालिकाले आयोजना गरेको काठमाडौं उपत्यकाका पाँचवटा ऐतिहासिक नगरपालिकाबीच ऐतिहासिक तथा साँस्कृतिक सम्पदाको पुनःनिर्माण ऐतिहासिक प्रमाणको आधारमा परम्परागत शैलीमै पुनःनिर्माण गर्ने निर्णय भएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए ।

भक्तपुर नगरपालिकाको आयोजनामा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनबीच छलफल भएको हो ।

छलफलबाट उपत्यकाका पाँच वटा पुराना नगरपालिकाभित्रका पुरातात्विक, ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेका संरचनाहरु जनसहभागिता जुटाई पुनःनिर्माण गर्न जोड दिने, सम्पदाहरुको प्राप्त ऐतिहासिक प्रमाणहरुको आधारमा अध्ययन अनुसन्धान गर्दै परम्परागत मौलिक शैलीमा पुनःनिर्माण गर्न जोड दिने निर्णय भएको छ ।

पाँचवटै नगरपालिकाका प्रमुखले हस्ताक्षर गरेको निर्णयमा काठमाडौं उपत्यकाका प्राचीन शहरहरु समेटेर साँस्कृतिक संरक्षित केन्द्र घोषणा गराउन सबै नगरपालिकाले पहल गर्ने र काठमाडौं उपत्यकाका ऐतिहासिक नगरपालिकाबीच अन्तरनगर साँस्कृतिक आदानप्रदानमा जोड दिने उल्लेख गरिएको छ ।

टोलीले भक्तपुर नगरपालिकाभित्र भइरहेको सम्पदा पुनःनिर्माणको अवस्था, नगरपालिकाले सञ्चालन गरेको ख्वप कलेज, ख्वप मावि, ख्वप पोलिटेक्निक, ख्वप इन्जिनियरिङ्ग कलेजको स्थलगत अवलोकनसमेत गरेको थियो ।

नगर प्रमुखहरुलाई भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सम्पदा र शैक्षिक अवस्थाका बारेमा जानकारी गराएकी थिइन् ।
रासस

प्रकाशित मिति : १३ श्रावण २०७५, आइतबार ००:००