साउन ९, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रह्मदेवस्थित सिद्धनाथ सामुदायिक वनमा आजदेखि गौशाला भवन सञ्चालनमा आएको छ ।
भीमदत्तनगरपालिकाको २६ लाख १० हजारको लागतमा निर्माण भएको गौशाला भवनको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले उद्घाटन गरे ।
उनले छाडा पशु व्यवस्थापन समस्याका रुपमा रहेकाले नगरपालिकाले नगरका विभिन्न क्षेत्रमा गौशाला निर्माण गरिरहेको जानकारी दिए ।
सामुदायिक वनको करीव १२ बिघा क्षेत्रफल लिएर निर्माण गरिएको गौशालामा शुरुवातमा ५२ गाई राखिएका छन् । नगरपालिकाको आर्थिक सहयोग र जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यको संरक्षकत्वमा गौशाला सञ्चालनमा ल्याइएको हो ।
झण्डै तीन वर्षदेखि प्रदेश नं ७ मा छाडा पशु देखेपछि त्यसको व्यवस्थापनका लागि जगत्गुरुले पहल गर्दै आएका छन् । महाकाली गौशालामा दीगो रुपमा गाई पालन फार्मका रुपमा विकास गरिने लक्ष्य लिइएको छ । झण्डै एक हजार पशुको व्यवस्थापन गर्न सकिने नगरपालिकाले जनाएको छ ।
सो अवसरमा गाईको उचित व्यवस्थापनमा ध्यान दिन पशु किसानलाई आग्रहसमेत गरिएको छ । नगरपालिकाले यहाँको बागफाँटामा समेत गौशाला निर्माण गरिरहेको छ । पशु व्यवस्थापनका लागि यहाँका अधिकांश स्थानीय तहले बजेट समेत विनियोजन गरेर काम अघि बढाएका छन् ।
रासस
प्रतिक्रिया