साउन ९, जाजरकोट । यहाँका अधिकांश स्थानीय तहमा अझै बैँक स्थापना हुन सकेका छैनन् । जिल्लाका सात स्थानीय तहमध्ये तीन स्थानीय तहमा बैँक स्थापना भए पनि बाँकी चार ठाउँमा अझै स्थापना हुन नसकेका हुन् ।
बैँक स्थापना नहुँदा ग्रामीण क्षेत्रबाट सामान्य कामका लागि पनि जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता भएको बारेकोट गाउँपालिका वडा नं ७ का प्रेम शाहीले बताए ।
वृद्धभत्तादेखि उपभोक्ता समिति सम्म सदरमुकाम गई लामो समयसम्म बस्दा खर्च वढी हुने गरेको छ । ३० हजारको योजनादेखि लाखौँ योजनामा काम गर्ने उपभोक्ता सदरमुकाममा आउँदा समस्या भएको छ । ठुलो योजना भएका त ठीकै भए पनि साना योजना भएका उपभोक्ताको रकम बैँक जाँदा र आउँदा आधा खर्च हुने गरेको जुनिचाँदे गाउँपालिका वडा नं ८ का नरबहादुर बुढाले बताए ।
जुनिचाँदे, बारेकोट, शिवालय र कुशे गाउँपालिकामा बैँक स्थापना भएको छैन । यी अधिकांश ठाउँका रहेका स्थानीय सरकारका कार्यालय समेत सदरमुकाममा छन् । मोटो रकम बाटामा बोकेर ल्याउँदा सुरक्षा चुनौती भएको कर्मचारी बताउँछन् ।
द्वन्द्वकालमा विस्थापित बैँक समेत स्थापित हुन नसक्दा थप समस्या परेको छ । नलगाड नगरपालिकाको दल्लीबाट विस्थापित नेपाल बैँकको शाखा अहिलेसम्म पूर्ण स्थापना हुन सकेको छैन ।
रासस
प्रतिक्रिया