राम केसी
साउन ४, चौतारा ।
सरकारले यही साउनदेखि लागू हुनेगरि जिल्ला सदरमुकामका १८ वटा बिषयगत कार्यालय स्थानीय तहमा हस्तान्तरण गरेसँगै कर्मचारी बृत्तमा अन्योल छाएको छ ।
पालिकास्तरमा हस्तान्तरण गर्न खारेज गरे पछि कर्मचारी कहाँ र कुन अवस्थामा काम गर्ने भन्ने अन्योलमा छन् । कर्मचारीहरूले सञ्चार माध्यमबाट मात्र जानकारी पाएको र आधिकारिक निकायहरूबाट अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको गुनासो गरेका छन् ।
अहिले हाजिर मात्र गरेर बस्ने गरेको जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकका निमित्त प्रमुख दुर्गादत्त पन्थीले बताए । खारेजीसँगै अस्थायी र ज्यालादारी कर्मचारीलाई हाजिर नगराउने निर्देशन आएको र अन्य काम पनि नगर्न निर्देशन आएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनीयर शम्भु खनालले बताए ।
उता खारेजीमा परेको घोषणा गरिएपछि अहिले तत्काललार्य कार्यालय यथावत् रुपमा सञ्चालन गर्न पत्र प्राप्त भएको घरेलु तथा साना उद्योग विकास समितिका लेखा अधिकृत भगवान झाले बताए ।
हालसम्म आधिकारिक पत्र नआए पनि प्रदेश मातहत रहने गरी जिल्ला वन कार्यालय यथावत् रहने र यसअघि इलाका वन कार्यालयले गर्दै आएको काम तीन नगरपालिका र ९ गाउँपालिकालाई समेट्ने गरी छ सब–डिभिजन कार्यालय रहने जिल्ला वन अधिकृत राजु क्षत्रीले बताए ।
त्यसैगरी भूसंरक्षण कार्यालयमा पनि कामकाज ठप्प छ । देशमा १४ डिभिजन कार्यालय रहेको हुँदा त्यसमध्ये एउटा डिभिजन कार्यालय यहाँ रहने सम्भावना रहे पनि सोबारे अहिलेसम्म कुनै आधिकारिक पत्र प्राप्त भइसकेको सहायक भूसंरक्षण अधिकृत प्रदीप श्रेष्ठले बताए ।
यसैगरि खारेजीमा परेका शिक्षा, पशुसेवा, महिला विकासलगायत कार्यालयका कर्मचारी पनि हाजिर मात्र गरिरहेका छन् । जिल्ला अस्पताल भने आगामी असोज मसान्तसम्म यथावत् रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जिल्लामा खारेजीमा परेका कार्यालयमध्ये शान्ति समिति मात्र भाडाको घरमा बसेको र अन्यको आफ्नै सरकारी भवन छन् । रासस
प्रतिक्रिया