२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छन्त्याल संग्रहालय स्थापनाका लागि भवन निर्माण



 

२० असार, बाबियाचौर– म्याग्दी । अल्पसंख्यक छन्त्याल समुदायको सांस्कृतिक पहिचानको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले म्याग्दीको रघुगंगा गाउँपालिका ६ ठाडाखानीका बासिन्दाले छन्त्याल संग्रहालय स्थापनाका लागि भवन निर्माण गरेका छन् ।

स्थानीयवासी, प्रवासी नेपाली र गाउँपालिकाको सहयोगमा ४० लाख भन्दा बढीको लागतमा सभाहलसहितको दुई तले तीन कोठे सामुदायिक भवन निर्माण गरिएको हो । भूइँतलामा सभाहल, भान्छाकोठा, डाइनिङ हल तथा माथिल्लो तलाको एउटा कोठामा संग्रहालय र अर्कोमा पाहुना घर सञ्चालन गर्ने तयारी भएको उपभोक्ता समितिका अध्यक्ष दलमान छन्त्यालले बताए ।

अध्यक्ष छन्त्यालका अनुसार उक्त भवन निर्माणका लागि गाउँपालिकाले चालु आवमा सात लाख ७०० उपलब्ध गराएको युवा क्लब, आमा समूह, स्थानीयवासी र प्रवासीबाट ३३ लाख लगानी भएको छ । पक्की भवन निर्माणका लागि हालसम्म ४० लाख खर्च भएको उपभोक्ता समितिले जनाएको छ ।

सो भवनमा छन्त्याल समुदायको दैनिक जीवनयापनमा प्रयोग हुने परम्परागत सामग्री, जातीय पहिचान झल्कने वेषभूषा, जन्म, विवाह, छेवार, किरिया जस्ता संस्कारगत कार्यमा प्रयोग हुने सामान, ऐतिहासिक लिपी आदि सामग्री संकलन गरेर संग्रहालय सञ्चालन गर्ने तयारी भएको वडा सदस्य टेकजित छन्त्यालले बताए ।

धार्मिक पर्यटकीय स्थल मालिकाधुरीको फेदीमा अवस्थित ठाडाखानी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका कारण सो भवनमा पाहुना घर समेत सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए ।

परम्परागत रुपमा खानी खन्ने पेशा अगाल्दै आएका छन्त्याल समुदायको म्याग्दीको ठाडाखानी, कुइनेमंगले, मल्कवाङ, मच्छिम र गुर्जामा बाहूल्य बसोवास छ ।

टेलिटिचिङका लागि स्मार्ट टिभी प्रदान

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विद्यालयलाई टेलिटिचिङ (दूर शिक्षा) सञ्चालनका लागि स्मार्ट टिभी वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका १० माध्यमिक विद्यालयलाई टेलिटिचिङका लागि गाउँपालिका अध्यक्ष डमबहादुर पुनले १० वटा स्मार्ट टिभी हस्तान्तरण गरे ।

गाउँपालिकाको आर्थिक सहयोग, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको प्राविधिक सहयोगमा गाउँपालिकास्तरीय शिक्षक महासंघ कार्यसमितिको समन्वयमा १० वटा मावि तहका विद्यालयमा उच्च गतिको इन्टरनेट जडान गरी स्मार्ट टिभीमार्फत टेलिटिचिङ शुरु गर्नका लागि तयारी तीव्र पारिएको छ ।

आगामी साउन महिनादेखि नै विद्यालयमा टेलिटिचिङलाई शुरु गर्नका लागि स्मार्ट टिभी वितरण तथा प्राविधिक जडानको काम भएको बताउँदै हरेक विद्यालयले प्रविधियुक्त कक्षा कोठाको व्यवस्थापन, विद्यालयमा रहेको जनशक्ति परिचालन गरी टेलिटिचिङ प्रभावकारी बनाउन अध्यक्ष पुनले आग्रह गरे ।

विद्यालयमा विज्ञान, गणित र अंग्रेजी विषयका शिक्षक अभाव भइरहने र विद्यार्थीको नियमित पठनपाठनमा नै समस्या आउने गरेको सन्दर्भमा टेलिटिचिङ उपयोगी हुने अध्यक्ष पुनले बताए ।

टेलिटिचिङको शुरुवातका लागि चालु आर्थिक वर्षमै गाउँपालिकाले १० लाख बजेट विनियोजन गरेको थियो भने गाउँपालिका अध्यक्ष पुनको सक्रियतामा पाँच लाख ५० हजार सहयोग जुटेको थियो ।
रासस

प्रकाशित मिति : २० असार २०७५, बुधबार ००:००