सीताराम अधिकारी
१४ असार, मलेखु– धादिङ ।
धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदा तीन जनाको मृत्युभएको छ भने दुई जना बेपत्ता भएका छन् । सात घर पहिरोले पुरिएका छन् भने चार जना घाइते भएका छन् ।
दुई दिनदेखि परेको वर्षाका कारण खनीयाबास गाउँपालिका ५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी श्रीमती ३६ बर्षीया वसोधा गुरुङ, १० बर्षीया छोरी लक्ष्मी गुरुङ र ५ बर्षीया सरस्वती गुरुङको पहिरोमा परी मृत्यु भएको छ ।
उनीहरुको शव आज विहान पहिरोबाट निकालिएको छ । सो पहिरोबाट एक जनालाई घाइते अवस्थामा गाउँवासीले उद्धार गरी सत्यदेवी स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताए ।
खनीयावास गाउँपालिका ४, चिउरीखर्कमा पहिरोले एक घर पुरिएको छ । सो पहिरोमा परी शम्शेर घले र कोप्ची घले बेपत्ता भएको इलाका प्रहरी कार्यालय, दार्खाका प्रहरी हवल्दार मनोज श्रेष्ठले जानकारी दिए ।
यसैगरी, नेत्रावती डपजोङ गाउँपालिकाको मार्पाकमा पाँच घर पहिरोले बगाएको छ । घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ । वर्षात्का कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सडक भत्किएकाले सदरमुकामबाट मोटर चल्न छाडेको छ । इलाका प्रहरी कार्यालय, दार्खाको प्रहरी टोली चिउरीखर्क पुगिसकेको छ भने साईश्वाँरा भने अझै पुग्न सकेको छैन ।
घटनाको थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा जतिसक्दो छिटो प्रहरी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
रासस
प्रतिक्रिया