२६ कार्तिक २०८१, सोमबार | Mon Nov 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोकर्णेश्वर मन्दिर पुनःनिर्माणका लागि १ करोड बजेट



 

२२ जेठ, काठमाडौं ।
लिच्छविकालीन स्थानीय गोकर्णेश्वर महादेवको मन्दिरको जीर्णोद्धारका लागि आगामी आर्थिक वर्ष २०७५।०७६ मा पुरातत्व विभागले एक करोड बजेट विनियोजन गरेको छ ।

तीनतले झिँगटी छाना भएको प्राकृतिक दृश्याकित देवताहरुको आकार भएका काठका टुँडालजडित शिवजीको मन्दिर ज्यादै जीर्णावस्थामा छ । विभागका योजना तथा मूल्याङ्कन विभागका लिपि अधिकृत सविता न्यौपाने पौडेलले कालीगढहरु जुटाएर मन्दिर पुनःनिर्माण छिट्टै शुरु गरिने आश्वासन दिए ।

पुनःनिर्माणका लागि गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार कमिटीले भने दुई करोड ५० लाख माग गरेको थियो । गोकर्णेश्वरवासीको चाहना भने उक्त मन्दिरको छाना तामामा सुन लेपन गरी पशुपतिनाथ मन्दिरमा जस्तै पानी नचुहिने निर्माण गर्नुपर्ने रहेको छ ।

सुन लेपनबाट खिया नलाग्ने उनीहरुको भनाइ छ । विसं २०७४ फागुनमा कमिटीबाट आयोजना गरिएको सप्ताह महायज्ञबाट करीब तीन करोड नगद र जिन्सी संकलन गरिएको थियो ।

मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठ जतिसक्दो छिटो पुनःनिर्माण गर्नुपर्नेमा जोड दिए । गोकर्णेश्वरमा प्रत्येक वर्ष भाद्र कुशेऔँसी र पौष गयाऔँसीका दिन आआफ्ना पितृको सम्झनामा श्राद्ध एवं पितृतर्पण गरिन्छ ।

पौराणिक कालमा लङ्कानरेश रावणले पनि गोकर्णेश्वरको दर्शन गरेको किंवदन्ती छ । सत्ययुगमा महादेवले मृगरुप लिँदा खोज्दै गएका देवताहरुले उनलाई चिनी सिङमा समाउँदा भाँचिएर तीन टुक्रा भएकामा एक टुक्रा आकाश, एक टुक्रा पाताल र एक टुक्रा हातमा रहेको थियो । हातमा रहेको सोही टुक्रा हालको गोकर्णेश्वरमा स्थापना गरिएको पुराणमा वर्णित छ ।
रासस

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलबार ००:००