३१ वैशाख, काठमाडौं ।
मुलुकमा हुने संगठनिक अपराध विरुद्ध प्रहरी र नागरिक समाज एक हुनुपर्ने बताइएको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क र सामुदायिक सेवा केन्द्र गोँगबुले आयोजना गरेको ‘अपराध नियन्त्रण अभियानको समीक्षा र लागुऔषध नियन्त्रणका लागि एकमहिने अभियान’मा अपराध नियन्त्रणमा नागरिक र प्रहरी संगसंगै हिँड्नुपर्ने बताए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले नयाँ बसपार्कलाई सुरक्षित क्षेत्रका रुपमा चिनाउन गठित समूहले जिम्मेवारपूर्ण काम गर्नुपर्ने बताए । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरपालिकामा अपराध नियन्त्रणका लागि प्रहरीलाई आर्थिक, भौतिक र नैतिक सहयोग गरिने बताउँदै अपराध नियन्त्रणका लागि नगरपालिकामा सिसी क्यामरासमेत जडान गरिने जानकारी दिए ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख योगेन्द्रसिंह थापाले अपराध नियन्त्रणमा नागरिक समाज आफैँ अग्रसर हुनुपर्ने बताए । प्रहरी प्रभागका प्रमुख प्रताप पौडेलले वैशाखमा महानगरीय प्रहरी प्रभाग गोँगबुले विभिन्न आपराधिक क्रियाकलाप गर्ने ४८२ जनालाई नियन्त्रणमा लिएको र ७२ जनालाई सार्वजनिक मुद्दा चलाएको जानकारी दिए ।
प्रभागले सामुदायिक सेवा केन्द्रसंगको सहकार्यमा गोँगबु क्षेत्रको अपराध नियन्त्रणका लागि लागुऔषध नियन्त्रण तथा निराकरण, महिलाविरुद्धको अपराध नियन्त्रण, व्यवस्थित फुटपाथ तथा पार्किङ, होटल लज रेष्टुराँ डान्स बार व्यवस्थित, अवैध धन्दा निराकरण, गुण्डागर्दी नियन्त्रण तथा निराकरण र सार्वजनिक स्थान सरसफाइ समिति गठन गरेको सामुदायिक सेवा केन्द्रका कावा अध्यक्ष शैलेश कार्कीले बताए ।
रासस
प्रतिक्रिया