प्रेम रौले
२५ चैत, बाजुरा ।
दुर्गम स्थानीय तहका युवा गाउँमा रोजगार नपाउँदा छिमेकी मुलुक भारतमा गएरर चौकीदारी लगायत विभिन्न काम गरेरै घरखर्च चलाउने परम्परा नै भइसकेको छ । गाउँमा कुनै काम नपाएर विदेशिएका युवा भने निर्वाचित जनप्रतिनिधि आएपछि घर फर्किन थालेका छन् ।
स्थानीय गौमूल गाउँपालिकाका युवा विदेशबाट फर्केर अहिले गाउँको विकासमा अग्रसर भएका छन् । गाउँमा नै विभिन्न विकास र निर्माण कार्य शुरु भएपछि विदेश भन्दा गाउँकै विकासका लागि भारतबाट फर्केको अर्का युवा कृष्ण रोकाया बताउछन् ।
गौमूल गाउँपालिकामा रहेका युवालाई विकास निर्माणका कार्यले गर्दा फुर्सद समेत पाउन सकेका छैनन् । यस अगाडिका वर्षमा असोज कात्तिकमा खेतीपाती लगाएर भारतका विभिन्न शहरमा चौकीदारी गर्न जाने युवालाई भ्याइनभ्याइ छ ।
गाउँपालिका लगायत विकासे निकायले स्थानीयवासीलाई गाउँमै रोजगारीको अवसर दिएकाले गाउँले यतिबेला विकासका काममा लागिपरेका हुन् । गाउँपालिकाका हरेक बस्तीमा विकास निर्माणका कार्य भइरहेकाले स्थानीयवासीलाई भ्याइनभ्याइ भएको गौमूल गाउँपालिका ३ माझपालिका कृष्ण रोकायाले बताए ।
स्थानीय तहपछि गाउँमा खानेपानी, बाटो पुलपुलेसा लगायत अन्य विकास निर्माणका काममा लाग्नु परेकाले कसैलाई घरमा बस्ने फुर्सद नभएको उनको भनाइ छ । गाउँपालिकाको योजना र अन्य विकासे निकायले गाउँमा धेरै काम दिएकाले भ्याइनभ्याइ भएको अर्का स्थानीयवासी धनबहादुर सार्कीले बताए ।
गाउँपालिकाको पनि धेरै योजना छन्, त्यो सँगै अन्य निकायकाले पनि धेरै काम दिएकाले स्थानीयवासीलाई रोजगारी जस्तै बनेको हो । स्थानीय युवा काममा व्यस्त भएकाले गाउँमा जुवा तास खेल्ने मदिरा सेवन गर्नेको संख्यामा कमी भएको उनले जानकारी दिए ।
गौमूल गाउँपालिका अन्तर्गत ग्रामीण जलस्रोत परियोजनाले मात्र १० वटा ठूला खानेपानी योजना निर्माण गरिरहेको छ । सो योजनामा पनि काम गर्ने मान्छे पाउन मुस्किल छ । ग्रामीण जलस्रोत परियोजनाले मात्र दह खोला सिँचाइ, बिरा खानेपानी, तल्लाखाली खानेपानी, थलाचौका खानेपानी धल्काडा खानेपानी, रनेडा खानेपानीगायत १० वटा ठूलो योजना सञ्चालन गरेको निमित्त जिल्ला जलस्रोत सल्लाहकार नरवीर ऐडीले बताए ।
त्यो सँगै वडापालिका भवन निर्माण बाटो र पुलमा पनि ठूलो संख्यामा जनशक्ति परिचालन भइरहेकाले गाउँमा काम गर्न भ्याइनभ्याइ भएको उनले जानकारी दिए । गाउँमै रोजगारीको अवसरसंगै गाउँको विकास हुनथालेपछि यो वर्ष भारतमा चौकीदारीको काम गर्न जाने युवा यतै व्यस्त भएको वडा नं १ का वडाअध्यक्ष बलबहादुर रोकाया बताउछन् ।
उनले भने, “गाउँका युवालाई गाउँमै स्वरोगार बनाउने गरी बजेट विनियोजनका साथै हरेक वडा र बस्तीमा खानेपानी र बाटो लगायतका विकास निर्माणका कामले सुबिधासंगै युवालाई रोजगारी सिर्जना भइरहेको छ ।”
गौमूल गाउँपालिका ग्रामीण जलस्रोत परियोजनाले गाउँपालिकाभित्र शुद्ध खानेपानीलाई सबैको पहुँचमा ल्याउन ८३ लाख ५० हजार भन्दा बढी रकम चालुतर्फ र २ करोड ५८ लाख सात हजार भन्दा बढी पुँजीगत तर्फ रकम विनियोजन गरेको छ ।
यो वर्ष मात्र गाउपालिका भित्रका ३३९ घरपरिवारलाई शुद्ध खानेपानी व्यवस्थापन गरिने जसमा २ हजार १७३ जनसंख्या लाभान्वित हुने जिल्ला खानेपानी उपभोक्ता महासंघका अध्यक्ष तुल्सीराम रोकायाले जानकारी दिए ।
ग्रामीण जलस्रोत परियोजनाले गाउँमा खानेपानीको व्यवस्था गर्नुका साथै गाउँमा बेरोजगार युवालाई रोजगार दिएको वडा न ३ का वडा अध्यक्ष धनबहादुर बोहरा बताउछन् । गाउँको जनशक्ति बाहिर नजाने हो भने गाउँको विकास चाडै हुन्छ ।
उनी भन्छन्, “गौमूल गाउँपालिका जस्तै सबै स्थानीय तहमा विकास निर्माणका कार्य युवाको जिम्मा दिने हो भने जिल्लाको विकासमा अगाडि बढ्ने देखिन्छ ।”
रासस
प्रतिक्रिया