३ कार्तिक २०८१, शनिबार | Sat Oct 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाकालीमा पुल निर्माणको काम तीव्र



विक्रम गिरी र शेरबहादुर सिंह
१९ चैत, ओदाली– कञ्चनपुर ।
महाकाली नदीमा पुल निर्माणको कामले तीव्रता पाएको छ । पुल निर्माणका लागि दुई साताअघि इटलीबाट ८ करोडको हाइड्रोलिक पाइल रिग मेशिन निर्माणस्थलमा ल्याइपु¥याइएको छ । उक्त मेशिन ल्याइएसंगै पुल निर्माणको कामले गति लिएको हो ।

“मेशिन ल्याउन छ महिनाभन्दा बढी समय लाग्यो,” पुल निर्माणस्थलमा भेटिएका कुमार श्रेष्ठ निर्माण सेवाका इन्जिनियर किशोरराज पाण्डेयले भने, “अब निर्माणको काम धमाधम अगाडि बढ्छ ।” हाइड्रोलिक पाइल रिग मेशिन निर्माणस्थलमा पुगेसंगै २ वटा पाइल गाड्ने काम सम्पन्न भएको छ । पुल निर्माणका लागि यस्ता ४०८ वटा पाइल निर्माण गरिने छन् ।

भीमदत्त नगरपालिका १२ ओदालीमा महाकाली नदीमा बन्न लागेको उक्त पुल निर्माणको जिम्मा कुमार सिएसइसी जेभीले लिएको छ । पुल निर्माण हुन लागेको सो ठाउँमा महाकाली नदीको चौडाइ दुई किलोमिटर रहेको छ । त्यसको ८०० मिटर क्षेत्रमा मात्र पक्की पुल निर्माण गरिँदैछ । सो ठाउँमा ८–८ सय मिटर लम्बाइका ४ लेनका २ वटा पुल निर्माण हुँदैछन् ।

“महाकाली वारि र पारि ६०० मिटर लम्बाइका दुईवटा पक्की पुल निर्माण गरिने छन्” इन्जिनियर पाण्डेयले भने, “पुल निर्माणस्थलमा पर्यटकलाई आकर्षित गर्न पोखरी र वनभोजस्थल निर्माण गर्ने योजना छ ।”

अहिले पक्की पुल निर्माण हुन लागेको ठाउँदेखि दोधारा–चाँदनीको झोलुङ्गे पुल अढाइ किलोमिटर दक्षिणतर्फ पर्छ । पक्की पुल निर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्नेछ । पक्की पुल नहुँदा सवारी साधन ओहोरदोहोर गर्न समस्या हुँदै आएको थियो । “पक्की पुलले दोधारा–चाँदनीका करिब ५० हजार बासिन्दालाई सदरमुकाम महेन्द्रनगरसंग जोड्नेछ,” इन्जिनियर पाण्डेयले भने, “स्थानीय उत्पादनले सहजै बजार पाउनेछ ।”

इन्जिनियर पाण्डेयका अनुसार गड्डाचौकीदेखि ओदालीसम्मको पहाच मार्गमा ४ वटा पक्की पुल निर्माणको काम अगाडि बढेको छ । भुजेला र गड्डाचौकीमा ३—३ मिटर लम्बाइका ४ वटा पुल निर्माण भइरहेका छन् । यस्तै नदीको दोधारा–चाँदनीतर्फ ३ वटा स्पर निर्माणको काम सम्पन्न हुँदैछ ।

निर्माणको जिम्मा पाएको कुमार सिएसइसी जेभीले निर्माण सामग्री जडानदेखि कच्चा पदार्थ संकलन तीव्र पारेको छ । निर्माणस्थल छेउमा क्रसर जडान, कामदारका लागि आवास, कार्यालय स्थापनासंगै बालुवा, ढुंगा र गिट्टी संकलन गरिएको छ ।

गड्डाचौकीस्थित पूर्व–पश्चिम राजमार्गलाई पुल निर्माणस्थल ओदालीसंग चार लेनको सात किलोमिटर पक्की सडकले जोड्ने योजना रहेको महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका प्रमुख प्रदीप भण्डारीले जानकारी दिए ।

“सडक सर्वेको काम सकिएको छ, जग्गा मुआब्जा निर्धारणको काम बाँकी छ,” योजना प्रमुख भण्डारीले भने, “जग्गा मुआब्जाबारे बिहीबार छलफल गरिँदैछ ।” जग्गा मुआब्जाका लागि चालू आवमा १० करोड विनियोजन गरिएको छ । मुआब्जा वितरणपछि सडक निर्माणले गति लिनेछ । पुल निर्माणका लागि करीब २ लाख घनमिटर ढुंगा, बालुवा र गिट्टी आवश्यक पर्छ भने अहिलेसम्म करीब १ लाख घनमिटर संकलन गरिएको छ ।

दोधारा–चाँदनीतर्फ चार लेनको डेढ किलोमिटर सडक निर्माण गरिनेछ । पुलका लागि चालू आवमा ५५ करोड विनियोजन गरिएको भण्डारीले बताए । महाकालीमा बन्ने पुलको लागत ३ अर्ब २७ करोड ९३ लाख ३४ हजार रहेको छ । पुल निर्माण गर्न तीन वर्ष लाग्नेछ । गत भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त पुलको शिलान्यास गरेका थिए ।

पुल निर्माणपछि कञ्चनपुर नेपाल–भारतको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकसित हुनेछ । यहाँ अहिले सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढाइएको छ । केही दिनअघि नेपाल–भारतको संयुक्त प्राविधिक टोलीले सुख्खा बन्दरगाह निर्माणस्थलको अनुगमन समेत गरिसकेको छ ।

विसं २०६० अघि महाकालीमा झोलुङ्गे पुलसमेत थिएन । दोधारा–चाँदनीका बासिन्दालाई आफ्नै देशका विभिन्न ठाउँसंगको सम्पर्क गर्न सकस हुने गरेको थियो ।

दोधारा–चाँदनी हरेक विकासका गतिविधिबाट टाढा थियो । विसं २०६१ मा महाकालीमा झोलुङ्गे पुल बनेसंगै यहाँका बासिन्दालाई आवागमनमा सहजता मिलेको हो । पक्की पुल बनेपछि भारतसितको परनिर्भरता घट्ने दोधारा–चाँदनीका बासिन्दा बताउँछन् ।
रासस

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार ००:००