हरि वास्तोला
१५ चैत, पोखरा ।
पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १५ स्थित ठूलीमजुवा द्वारेको खरबारीस्थित ७६८ रोपनी जग्गा सरकारी स्वामित्वमा फिर्ता भएको छ ।
व्यक्तिले कब्जा गरी धमाधम विभिन्न भौतिक संरचना निर्माण गर्न थालिएको साविक छिनेडाँडा गाविस वडा नं ९ को कित्ता नम्बर ५९१ को क्षेत्रफल ७६८ रोपनी १३ आना ३ पैसा १ दाम जग्गा सरकारी स्वामित्वमा आएको हो ।
पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, कास्की र प्रहरीको सक्रियतामा अर्बौं रुपैयाँ पर्ने उक्त जग्गा सरकारी स्वामित्वमा ल्याउन सफल भएको वडा अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।
सरकारी जग्गा व्यक्तिले हडप्ने क्रम बढ्दै गएपछि उक्त ठाउँमा निर्मित केही टहरा हटाइएको थियो । “यस जग्गा सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०७२ साल फागुन २३ गते जग्गा कुनै पनि व्यक्ति विशेषको नभएको ठहर गरेको थियो” अध्यक्ष पौडेलले भने । “सर्वोच्चको निर्णय पछि वडा कार्यालयले जग्गा संरक्षणको पहल शुरु गरेसंगै अन्ततः जग्गा सरकारी स्वामित्वमा आएको हो ।”
“यस जग्गामा नेपाल प्रहरी प्रदेश नं ४ को तालीम केन्द्रसहितको मुख्यालय बनाउने चर्चाका साथै खेलकूद विश्वविद्यालय बनाउने चर्चा पनि छ” पौडेलले थपे । “प्रदेशस्तरीय संग्रहालय र नमुना पार्क लगायतका संरचना निर्माण गर्ने विषयमा पनि हामीले छलफल शुरु गरिसकेका छौं ।”
जग्गा सरकारी स्वामित्वमा ल्याउन सहयोग गर्ने स्थानीयवासी, प्रहरी प्रशासन, महानगरपालिका, पत्रकार लगायत सम्पूर्ण सरोकारवालालाई अध्यक्ष पौडेलले धन्यवाद व्यक्त गरे ।
रासस
प्रतिक्रिया