२५ कार्तिक २०८१, आइतबार | Sun Nov 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शौचालयको ढल महाकालीमाः खुल्ला दिसामुक्त अभियान प्रभावित



किरण धामी
१३ चैत, दार्चुला ।
‘घर घरमा शौचालय समुदायको सान, सन् २०१६ सम्म खुला दिसामुक्त दार्चुला हाम्रो अभियान’ मूल नाराका साथ थालिएको खुला दिसामुक्त अभियान दुई वर्ष ढिलाइ हुँदासमेत पूरा हुन सकेको छैन ।

जिल्लाको सरसफाइ रणनीतिक योजनाअनुसार सबै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भई सक्दा समेत सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाको बजार क्षेत्रका दर्जनौँ घरघुरीले सिधै महाकाली नदीमा शौचालयको ढल मिसाएका कारण अभियान प्रभावित भएको थियो ।

सीमा क्षेत्रको पवित्र नदीका रुपमा रहेको महाकाली किनारमै घर बन्न थालेपछि नदी छेउछाउमा बढ्दै गएको अव्यवस्थित बस्ती र होटल व्यवसायका कारण प्रदूषित बन्ने क्रम बढ्दै गएको हो । नदी किनारको बाङ्गाबगर देखि पुलघाट हुँदै तिङ्कर खेडासम्मको बस्तीका घर तथा होटलको शौचालयबाट निस्कने फोहर सिधै महाकाली नदीमा मिसाइदै आएको छ ।

बजार क्षेत्रमा ९३ घरघुरीमा बिना सेफ्टिट्याङ्कीका शौचालयका ढल सिधै महाकाली नदीमा मिसाउने गरेको पाइए पनि खुल्ला दिशा मुक्ता जिल्ला घोषणाको तयारी हुन लाग्दा यसको विरोध हुँदै आएको थियो । आगामी वैशाख पहिलो साता जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने तयारीमा रहेको बताइएको छ ।

छिटै जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणाको तयारी अघि बढाउन क्षेत्रीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिको टोलीले दार्चुला जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नु पूर्व अनुगमन भइसकेको छ ।

चैत ५ देखि ८ गतेसम्म चार दिन जिल्लाभरिमा रहेका व्यक्तिगत र सार्वजनिक शौचालय प्रयोग र सरसफाइको अवस्था बुझेर टोली फिर्ता भएको जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिका ९आरवासिसी० सदस्यसचिव एवं खानेपानी तथा सरसफाइ सवडिभिजन प्रमुख प्रकाशबहादुर रावलले बताए ।

प्रदेश नं ७ का उपक्षेत्रीय प्रशासक शंकर विष्ट नेतृत्वको टोलीले मार्मा गाउँपालिका, शैल्यशिखर नगरपालिका, मालीकार्जुन गाउँपालिका, लेकम गाउँपालिका र महाकाली नगरपालिकाको सरसफाइको अवस्थाबारे अनुगमन गरेको चर्चा गर्दै उनले भने, “अनुगमनका क्रममा जिल्लाको कुनै पनि क्षेत्रमा खुल्ला दिसा नदेखिएका कारण चैत दोस्रो साता आरवासिसीको बैकठबाट खुल्ला दिसामुक्त जिल्ला घोषणाको मिति तय गरिने प्रतिक्रिया पाएका छौँ ।”

पछिल्लो समय सबै क्षेत्र खुल्ला दिसामुक्त भए पनि महाकाली नगरपालिकाको सदरमुकाम क्षेत्रको महाकाली नदीमा खुल्ला दिसा ढलमा पठाइएको भन्दै विरोधका स्वर समेत उठ्न थालेका छन् ।

महाकालीमा शौचालयको ढलको व्यवस्थापन नहुँदासम्म यथास्थितिमा घोषणा गरिनु नाम मात्रैको घोषणा हुनेछ । महाकाली नगरपालिकाले बजार क्षेत्रको ढलको समस्या समाधान गर्न छिट्टै ढल व्यवस्थापनको कार्यक्रम लागू हुन लागेकाले खुल्ला दिसामुक्त अभियान रोक्न नहुने जनाएको छ ।
रासस

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलबार ००:००