७ चैत, धादिङ– दार्खा ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, कात्राकमा रहेको खानेपानीको मुहानमा विषादी भेटिएको छ । कात्राकका स्थानीयवासीले प्रयोग गर्दै आइरहेको मुहानमा मंगलबार बेलुकी विषादी मिसिएको हल्ला चलेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष तथा प्रहरीको टोली घटनास्थलमा पुगेका थिए । पैंतालीस घरधुरीले प्रयोग गर्दै आइरहेको खानेपानीको मुहानमा विषादी हालिएको पुष्टि भएको बेनिघाट रोराङ गाउँपालिका–३ का वडा अध्यक्ष भुवन त्रिपाठीले जानकारी दिए ।
विषादी मिसिएको पानी परीक्षणको लागि प्रयोगशालामा पठाइएको उनले जानकारी दिए । मुहानमा विषादी मिसाइएको भेटिएको धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।
मुहान सम्बन्धी विवादका कारण स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय धादिङमा निवेदन समेत दिएका छन् ।
रासस
प्रतिक्रिया