५ चैत, भक्तपुर ।
जिल्लालाई पूर्ण सरसफाइयुक्त जिल्ला बनाइने भएको छ । पूर्ण सरसफाइयुक्त जिल्ला बनाउन जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति भक्तपुरले आयोजना गरेको दुईदिने कार्यशालामा यस्तो निर्णय भएको हो ।
कार्यशालामा समितिले निर्माण गरेको ‘पूर्ण सरसफाइसम्बन्धी भक्तपुर जिल्लाको रणनीतिक कार्ययोजना २०७४’ सार्वजनिक भई त्यसमाथि छलफल भएको छ । कार्यक्रममा सांसद महेश बस्नेतले सार्वजनिक गरेको कार्ययोजनालाई अन्तिम रुप दिन अझै सुझाव संकलन गर्नुपर्नेमा जोड दिए ।
सरसफाइसम्बन्धी रणनीतिक कार्ययोजना कार्यान्वयन गरी सफल पार्न जिल्लाका चार वटै नगरपालिकाको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले हनुमन्ते र मनोहरा खोलालाई ढलमुक्त नबनाएसम्म भक्तपुर सफा नहुने बताए ।
हनुमन्ते सरसफाइको १०० हप्ता अभियान शुरु गरिएको जानकारी दिँदै उनले हनुमन्ते र मनोहरा करिडोर बनेपछि यसले सार्थकता पाउने भनाइ राखे ।
“व्यक्तिको घरको ढल सीधै हनुमन्तेमा हालिएको छ, लभ्ली गार्मेन्टले रसायन सहितको दुर्गन्धित पानी छाडेको छ र माइसप रसायन कम्पनीले सीधै फोहर खोलामा हाल्दा हनुमन्ते धेरै दुर्गन्धित भएको छ,” उनले भने ।
कार्यक्रममा प्रदेशसभा सदस्य हरिशरण लामिछानेले विद्यालयदेखि व्यक्ति व्यक्तिलाई फोहर गर्नबाट रोक्न चेतना फैलाउने र स्थानीय तहले कानून बनाएर कारवाहीमा अगाडि बढाउनुपर्ने औँल्याए ।
समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले फोहर संकलन गरेर कहाँ व्यवस्थापन गर्ने र डम्पिङसाइट कहाँ बनाउने भन्नेबारेमा सबै नगरपालिकाले बृहत् योजना बनाउनु आवश्यक रहेको बताए ।
प्रजिअ द्रोण पोखरेलले कार्ययोजना सफल पार्न आएका सुझावलाई समेट्दै कार्यान्वयनको चरणमा समेत योजनाका नीतिलाई फेरबदल गर्दै लैजानुपर्नेमा जोड दिए । चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र र सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले भक्तपुरलाई काठमाडौंले समेत प्रदूषित बनाइरहेको बताउँदै नगरपालिकाले फोहर गर्नेलाई कडा कारवाही गर्ने नीति अगाडि बढाएको बताए ।
गैरसरकारी संस्था भक्तपुरका अध्यक्ष सोमशर्मा बजगाईं, महिला विकास अधिकृत नीला घिमिरे, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी लगायतले कार्ययोजनाबारे सुझाव राखेका थिए ।
रासस
प्रतिक्रिया