२५ कार्तिक २०८१, आइतबार | Sun Nov 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकजना लेखापालले तीन वटा कार्यालयको लेखा फाँट हेर्छन्



५ चैत, बैतडी ।
लेखामा दरबन्दीअनुसारका कर्मचारी नहुँदा यहाँका सरकारी कार्यालयमा समस्या भएको छ । बैतडीमा एउटै लेखापालले तीन तीन वटा कार्यालयको लेखा फाँट हेर्नुपर्ने बाध्यता रहेको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय बैतडीका लेखापाल भाष्करप्रसाद पन्तले कोष, भू–संरक्षण र जिल्ला प्राविधिक कार्यालय गरी तीन कार्यालयको लेखाफाँट हेर्दै आएका छन् । कोष, प्राविधिक कार्यालय सदरमुकाम र भू–संरक्षण कार्यालय सदरमुकामबाट ४० किलोमिटर टाढा पाटनमा पर्छ । दुईतिर कार्यालय भएपछि उनलाई समय मिलाउन हम्मेहम्मे पर्छ ।

कार्यालयको लेखासम्बन्धी काम साँझ बिहान गरेर भ्याउन नसकेको उनको दुखेसो छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीमा कार्यरत लेखापाल दीपक ओझाले दुई कार्यालयको लेखा फाँट सम्हाल्दै आएका छन् । स्वास्थ्यमा कार्यरत उनलाई काजमा पञ्चेश्वर गाउँपालिकाको लेखा हेर्ने जिम्मा थपिएको छ ।

पन्त र ओझामात्र होइन जिल्लाका अधिकांश लेखापालले दुईभन्दा बढी कार्यालयको लेखा फाँट सम्हाल्दै आएका छन् । जिल्लामा करीब आठ लेखापालले दुई कार्यालयको लेखा फाँट हेर्दा समस्या हुने गरेको छ । आवश्यक दरबन्दी नभएपछि उनीहरुले दुई तीन कार्यालयको लेखा सम्हाल्दै आएका छन् ।

दुई तीन कार्यालय हेर्नु पर्दा समयमै काम सम्पन्न नभएर सेवाग्राही मारमा परेका छन् भने लेखापाल समेत समस्यामा छन् । “गाउँपालिका पुग्न एक दिन लाग्छ,” लेखापाल ओझाले भने– “कहिले स्वास्थ्य कहिले गाउँपालिका हेर्नुपर्दा खाना खाने समेत फुर्सद छैन ।” दुवै कार्यालयको कामको चापका कारण समयमै काम गर्न नसकिएको उनको भनाइ छ ।

जिल्लास्थित आधा दर्जन सरकारी कार्यालय पाटनमा छन् । सदरमुकाम र पाटन दुवैतिरका कार्यालय हेर्दै आएका लेखापाललाई मात्र होइन थप गाउँ/नगरपालिकाको लेखा हेर्न सास्ती हुने गरेको जिल्ला निर्वाचन र मेलौली नगरपालिकाको लेखा हेर्दै आएका भानदेव जोशीले बताए ।

संघीय पुनःसंरचनापछि जिल्लास्थित कार्यालयका लेखापाललाई स्थानीय तहको लेखा हेर्ने जिम्मा दिइएपछि कार्यबोझ बढेर समयमै काम हुन सकेको छैन । योजनाको दैनिक भुक्तानीमा समेत समस्या हुने गरेको स्थानीयवासी बताउँछन् ।

“सदरमुकामस्थित कार्यालय पुग्दा लेखापाल गाउँ/नगरपालिकातिर हुन्छन्,” मेलौलीका सुरत पार्कीले भने, एउटै व्यक्तिले दुईतिरको कार्यालय हेर्नुपर्दा समयमा काम हुन सकेको छैन ।” स्थानीय तहले समयमै उपभोक्ता समिति गठन नगरिँदा र लेखापालको अभाव हुँदा विकास बजेट थोरै मात्र खर्च गर्न सकेका छन् । आर्थिक वर्ष सकिन चार महिना बाँकी रहँदा जिल्लाका स्थानीय तहले औसतमा करीब ३० प्रतिशतमात्रै विकास बजेट खर्चेका छन् ।

फिल्डमा हुने योजनाको सबै काम सकिए पनि लेखापालको नियमित उपस्थिति नहुँदा भुक्तानीमा ढिलाइ हुने गरेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । लेखापाल नियमित नहुँदा वित्तीय प्रगतिसमेत गर्न नसकेको गाउँपालिकाको भनाइ छ ।

दरबन्दीअनुसार कर्मचारी भए जनताले परिवर्तन महसुस गर्ने गरी विकास गरेर देखाउने सुर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टको अठोट छ । स्थानीय तहका कतिपय वडामा सचिव समेत छैनन् ।
रासस

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार ००:००