२८ कार्तिक २०८१, बुधबार | Wed Nov 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साढे दुई दशकदेखि बन्द बलेवा विमानस्थलमा परीक्षण उडान



५ चैत, फलेवास– पर्वत ।
विगत साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको बलेवा विमानस्थलमा आज पहिलो पटक परीक्षण उडान गरियो । यही चैत ९ गतेदेखि नियमित सञ्चालनमा आउने तयारीमा रहेको विमानस्थलमा तारा एयरको नाइन एन ए के एल कलसाइनको टुइनअटर विमानले परीक्षण उडान गरेको हो ।

पोखरादेखि बलेवा विमानस्थलसम्म परीक्षण उडान गरेको तारा एयरले नियमित सञ्चालनका लागि कुनै कठिनाइ नभएको बताएको छ ।

उक्त विमानलाई चालक सन्तोष शाह, प्रभात घिमिरे र एयर होस्टेज सिर्जना हुमागाईंले विमानस्थलमा सफल अवतरण गराएका हुन् । उनीहरुले पटक पटक विमानस्थल वरिपरिको क्षेत्रमा समेत उडान गरेर नियमित सञ्चालनका लागि उपयुक्त दिशाको निरुपण तथा अझै बनाउनुपर्ने संरचनाका बारेमा अध्ययन गरेका थिए ।

स्थानीयवासी तथा धौलागिरि क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुको पटक पटकको प्रयासपछि विमानस्थल नियमित सञ्चालनमा आउने भएको हो । विमानस्थलको एक महिनादेखि लगातार बागलुङ नगरपालिका र नागरिक उड्डयन प्राधिकरणको पहलमा मर्मत गरिनाका साथै वरपरका संरचना हटाइएको थियो ।

गौचरनमा परिणत भएको विमानस्थल सञ्चालनमा आउने भएपछि स्थानीयवासी हर्षित बनेका छन् । विमानस्थलमा धावन मार्ग मर्मत, पुरानो टावरको जाँच तथा मर्मत र विमानस्थल वरपरका अग्ला संरचना हटाइएको थियो ।

नियमित उडानका लागि यात्रुको अभाव भएमा बागलुङ नगरपालिकाले व्यहोर्ने सहमति भएपछि विभिन्न कम्पनी नियमित उडान भर्न सहमत भएका हुन् ।

विमानस्थल सञ्चालन गर्न धौलागिरिवासीले पटक पटक यसअघि पनि माग गर्दै आएका थिए । सो विमानस्थलमा नियमित हवाई उडान शुरु भएपछि धौलागिरिका पर्वत, बागलुङ र म्याग्दीका जनतालाई ठूलो सहयोग पुग्ने भएको छ ।

यो विमानस्थल बागलुङका नारायणस्थान, पैयुँपाटा, अमलाचौर, कुश्मिशेरा, भकुण्डे, रायडाँडा लगायत करीब १४ गाविसका जनताले श्रमदानमा २०१८ सालमा निर्माण गरेका हुन् । यो विमानस्थल बन्द हुनुपूर्व २०४८ सालभन्दा अघि बलेवाबाट टुइनअटर विमानले काठमाडौं, पोखरा र भैरहवा उडान भर्ने गरेको थियो ।
रासस

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार ००:००