५ चैत, चितवन ।
चितवन जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणाको अन्तिम तयारी गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लालाई पूर्ण खोप युक्त जिल्ला बनाउनका लागि अभियान शुरु गरेको हो ।
सातवटा स्थानीय तह रहेको जिल्लामा इच्छाकामना गाउँपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, राप्ती नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा भइसकेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय झाका अनुसार वैशाख महिना सम्ममा पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने गरी तयारी गरिएको छ । सरकारले सन् २०१७ सम्ममै पूर्ण खोपयुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएको थियो ।
रत्ननगर नगरपालिकाको साविकको पञ्चकन्या र रत्ननगर क्षेत्र, कालिका नगरपालिकाको साविकको पदमपुर र जुटपानी गाविस पूर्ण खोपयुक्त घोषणा हुन बाँकी रहेका छन् । भरतपुर महानगरपालिकाका २९ मध्ये १४ वटा वडा पूर्ण खोपयुक्त घोषणा हुन बाँकी रहेको प्रमुख झाले जानकारी दिए ।
पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नका लागि जिल्लामा रहेका १२ महिनादेखि २३ महिना मुनिका बालबालिकालाई दिइएको खोपको अनुगमन शुरु गरिएको हो । तेइस महिनामुनिका बालबालिकालाई दिनुपर्ने सबै खोप कसैलाई पनि नछुटाई लगाएको पाइएमा पूर्ण खोपयुक्त क्षेत्र घोषणा गरिन्छ ।
पूर्ण खोपयुक्त क्षेत्र घोषणा हुनका लागि बिसिजी, डिपिटी, पिसिभी र दादुरा–रुबेला विरुद्धको खोपको मात्रा उक्त क्षेत्रका सबै बालबालिकाले पूरा रुपमा लगाएको हुनुपर्ने छ । कुनै पनि क्षेत्रलाई पूर्ण खोपयुक्त क्षेत्र घोषणा गरेरमात्र नहुने भन्दै झाले पूर्ण खोपलाई निरन्तरता दिन सक्नुपर्ने बताए ।
आउँदो वैशाखभित्रै चितवन पूर्ण खोपयुक्त जिल्ला हुनुपर्ने झाले बताए । वैशाखभित्र पूर्ण खोपयुक्त जिल्ला भएन भने एक वर्षपछि धकेलिने बताउँदै उनले वैशाखभित्र चितवनलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नुपर्ने बताए ।
पूर्ण खोपयुक्त क्षेत्र घोषणा गर्नु अगाडि सर्वेक्षणदेखि घोषणा अनुमतिसम्मका १० चरण पूरा गर्नुपर्ने झाले बताए । उनका अनुसार हालसम्म देशका ३५ वटा जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसकेका छन् ।
रासस
प्रतिक्रिया