४ चैत, जितपुर– कपिलवस्तु
यहाँ सञ्चालित मझौला सिँचाइ आयोजना अन्तर्गत एक वर्षअघिदेखि शुरु भएका अधिकांश सिँचाइ आयोजनाको काम कछुवा गतिमा चलेको छ । सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार जिल्लामा कूल १० वटा सिँचाइ आयोजना सञ्चालित छन् ।
कुनै स्थानीयवासीको अवरोधले निर्माण कार्य रोकिएका छन् भने कुनै ढिला गरी शुरु भएका कारण सिँचाइ आयोजनाको काम सुस्त गतीमा अगाडि बढेका हुन् । अधिकांश योजना गत वर्ष टेण्डर भई यस वर्षदेखि शुरु भएका हुन् । तत्कालीन फुलिका गाविसमा रहेको नग्दरिया सिँचाइ आयोजना अहिलेसम्म शुरु नै हुन सकेको छैन ।
दशवटा सिँचाइ आयोजनाको कूल लागत करीव ५० करोड छ, तर डिभिजन प्रमुख राजेन्द्र महतोले एक–दुई वटा आयोजनना बाहेक अरू आयोजना सन्तोषजनक ढंगले चलेको दाबी गरे पनि चालु आर्थिक वर्षको आठ महिनामा भौतिक प्रगति भने २५ प्रतिशतको हाराहारीमा मात्र रहेको बताए ।
दुई वटा छुट्टाछुट्टै प्याकेजमा निर्माण शुरु गर्ने तयारीमा रहेको आयोजना फुलिकाको छिमेकी गाउँ वनगाई डिहीका गाउँलेले विरोध गरेपछि रोकिएको उनले बताए । “दुई गाउँको आपसी विवादले सिँचाइ आयोजना दुई महिनादेखि अवरुद्ध बनेको छ,” डिभिजन प्रमुख महताले भने । ४ सय ५० हेक्टर क्षेत्रमा सिँचाइ गर्ने उद्देश्यका साथ आयोजनाको काम थालिएको थियो ।
“वनगाई गाउँका स्थानीयवासीले आफ्नो गाउँसम्म नै सिँचाई लग्नुपर्छ भन्दै काम रोकेका छन्,” उनले भने, “सो आयोजनाको सर्भेक्षण नक्सा बमोजिम नै काम थालिएको हो । ” वनगाईसम्म लिफ्टबाट पानी आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि वनगाईले नमानेपछि काम अघि बढ्न सकेको छैन ।
सो आयोजना सञ्चालन गर्न सांसद चक्रपाणि खनाल, अतहर कमाल र कांग्रेस नेता दीपकुमार उपाध्यायले पहल गरे पनि अहिलेसम्म शुरु हुन सकेको छैन । “हामीले दुवै पक्षलाई मिलाएर काम चाँडो शुरु गराउनका लागि पहल गरेका छौँ,” सांसद कमालले भनेयो । सो आयोजना २०७४ साल पुस ११ भित्र सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो ।
बाणगंगा नगरपालिभमा रहेको प्रगति नगरमौजा प्रथम चरणको आयोजनाको काम पनि सन्तोषजनक देखिएको छैन । आठ सय हेक्टर सिँचाइ गर्ने लक्ष्यका साथ पाँच करोड १४ लाखको लागतमा आयोजनाको काम अझैसम्म १० प्रतिशत मात्र भएको छ । निर्माण कम्पनी राजेन्द्र आशीष जेभीले सो काम पाएको छ । दोस्रो चरणमा ४ करोड ७३ लाखको लागतमा आयोजनाको काम भने आधा सकिएको थियो ।
बाबुल राजना जेभीले लिएको काम समयमै सकिने सिँचाइ डिभिजन कार्यालयले दाबी गरेको छ । दुवै चरणको काम आगामी वर्षको असोज १७ भित्र सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको छ । ७ सय हेक्टर सिँचाइ गर्ने गरी शुरु भएको ७ करोड ३५ लाखको सिँचाइ आयोजनाको काम १० प्रतिशत मात्र भएको छ । तीन सय हेक्टर सिँचाइ गर्ने उद्देश्यले थालिएको लम्तिया सिँचाइ आयोजनाको समेत १० प्रतिशत मात्र भएको छ ।
९ सय हेक्टर सिँचाई गर्ने गरी सञ्चालनमा रहेको दुवै चरणको सिँचाइ आयोजनाको काम भने अन्तिम चरणमा पुगेको डिभिजन प्रमुख महतोले बताए । पहिलो चरणको २ करोड ८५ लाख र दोस्रो चरणको २ करोड ९० लाख लागत छ ।
८ करोड ८६ लाखको भुताहा सिँचाइ आयोजना दोस्रोको निर्माण कार्य भने सम्पन्न भइसकेको छ । सो आयोजनाबाट ७१५ हेक्टरमा सिँचाइ सुविधा विस्तार हुनेछ ।
रासस
प्रतिक्रिया