२८ फागुन, काठमाडौं ।
नुवाकोटलाई प्रादेशिक राजधानी बनाउन नुवाकोटका प्रदेश सदस्य, जिल्ला समन्वय समिति, राजनीतिक दल र पर्यटन व्यवसायी र नागरिक समाजले ऐतिहासिक, भौगोलिक, रणनीतिक र पूर्वाधारका आधार प्रस्तुत गरेका छन् ।
जिसस नुवाकोट र नुवाकोट सरोकार समाजले ‘नुवाकोटको विगत, वर्तमान र भविष्य’शीर्षकमा आयोजना गरेको कार्यक्रममा प्रतिनिधिहरुले काठमाडौँदेखि नुवाकोट पुग्न हाल तीन वटा डबल लेनका मार्ग कायम रहेको र मध्यपहाडी मार्ग नुवाकोट भएर जाने तथा भविष्यमा सुरुङ मार्ग पनि बन्ने भएकाले छिटो नुवाकोट पुग्न सक्ने देखिएको बताए ।
औद्योगिकीकरणका लागि जमीन, विद्युत् र पानी पर्याप्त रहेको नुवाकोट चीन र भारतको पारवहन विन्दु भई रणनीतिक महत्वको स्थान पनि भएको उनीहरुले बताए । कार्यक्रममा प्रदेशसभा सदस्य बद्री मैनाली र हीरानाथ खतिवडा ९नुवाकोट०ले प्रदेशका बाँकी १२ जिल्लाबाट नुवाकोट सजिलैसंग पुग्न सकिने र यहाँ प्रशस्त भवन, भवन बनाउन मिल्ने खाली जग्गा तथा समथर फाँट भएको बताए ।
प्रदेशसभा सदस्य ९काठमाडौँ० नरोत्तम वैद्यले आफूहरु हेटौँडाको पक्षमा नरहेको र पार्टीले पनि आफूहरुलाई स्वविवेक प्रयोग गर्न दिनुपर्ने बताए । नेपाली कांग्रेसका नेता रमेश महतले राजधानीको फोहर राख्ने डम्पिङ साइट हाल नुवाकोटको ओखरपौवामा रहेको तथा खाद्यान्न र तरकारी पनि काठमाडौं निर्यात भइरहेको बताउँदै उद्योगका लागि त्रिशूली र देवीघाट जलविद्युत् गृहबाट प्रशस्त विद्युत उत्पादन भइरहेको जानकारी दिए ।
पर्यटन व्यवसायी सुमन पाण्डेले पर्यटकीय जिल्ला नुवाकोट भारत चीन व्यापारमार्ग पनि भएको बताए । सरोकार समाजका अध्यक्ष रामलाल श्रेष्ठले पृथ्वीनारायण शाह र गीर्वाणयुद्धविक्रम शाहका पालामा दुई पटक राजधानी बनिसकेको नुवाकोट अन्य जिल्लाका तुलनामा नुवाकोट कम विकसित भएकाले भविष्यमा विकास गर्नका लागि पनि यसलाई राजधानी बनाउनुपर्ने तर्क गरे ।
सो अवसरमा नुवाकोटलाई राजधानी बनाउन सकिने आधारहरु झल्काइएको जिसस नुवाकोटबाट निर्मित वृत्तचित्र प्रस्तुत गरिएको थियो ।
रासस
प्रतिक्रिया