२४ फागुन, उर्लाबारी– मोरङ ।
वर्षेनी वर्षायाममा दुःख दिने मोरङको बक्राहा खोलामा व्यवस्थित तटबन्धनको माग गर्दै स्थानीयवासीले बुधबार बेलुका १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएका छन् ।
बक्राहा खोला नियन्त्रण तथा तराई मधेश चुरे संरक्षण विकास पहल समिति मार्फत सुनसरीको इटहरीमा मुख्यमन्त्री राईलाई भेटेर ज्ञापनपत्र बुझाइएको हो । समितिका संयोजक मानबहादुर श्रेष्ठ, मोरङ क्षेत्र नं १ क का प्रदेशसभा सांसद कुशल लिम्बू, नेकपा एमाले का वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यसहितको टोलीले मुख्यमन्त्री राईलाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।
मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाउँदै संयोजक श्रेष्ठले एक साताभित्रमा तटबन्धन निर्माणको काम शुरु नभए आन्दोलनमा उत्रने चेतावनीसमेत दिए । मिक्लाजुङ गाउँपालिकाको मुहानदेखि नेपाल भारतको सिमानासम्मको सो खोलाको दायाँबायाँ दीर्घकालीन तटबन्धनको माग गर्दै टोलीले ज्ञापनपत्र बुझाएको हो ।
वर्षा लाग्न केही महिनामात्र बाँकी रहेकाले तत्काल २५ करोड बजेट निकासा गरी जोखिमपूर्ण स्थानमा तटबन्धन गर्न माग गरिएको छ । बक्राहा खोला नियन्त्रणका लागि चार अर्ब बराबरको गुरुयोजना स्वीकृत भए पनि बजेट नआउँदा समस्या भएको संयोजक श्रेष्ठले बताए ।
चीन सरकारको सहयोगमा २५ वर्ष अघि सो खोलामा लगाएको तटबन्ध जीर्ण भएपछि यस क्षेत्रका हजारौँ बासिन्दाले वर्षेनी बाढीको पीडा भोग्दै आएका छन् ।
रासस
प्रतिक्रिया