२१ फागुन, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शहरी सुन्दरता, हरियाली बचाउन र आपत् विपद्मा आश्रय लिनका लागि खुल्ला स्थान सबैले प्रयोग गर्न पाउनुपर्ने हुँदा संरक्षण आवश्यक रहेको बताएका छन् ।
कामपा वडा नं ३ को वडा भवनसंगै जोडिएको साढे छ आना जग्गा र सो जग्गामा बनेको १ तले भवन समेतलाई निजी उपयोगबाट सार्वजनिकीकरण गर्ने क्रममा प्रमुख शाक्यले कामपा भित्रका सबै खाली जग्गामा सार्वजनिक भवन समेत बनाउन नपाइने बताए ।
प्रमुख शाक्यले आजदेखि सार्वजनिक जग्गामा निर्मित भवन भत्काएर सार्वजनिक जग्गा संरक्षण अभियानको थालनीसमेत गरेका छन् ।
सो अवसरमा कामपाका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले शहरी जीवन व्यवस्थापनमा सहजताका लागि थालिएको अभियानलाई सकारात्मक रुपमा लिन र अभियानमा सहभागी हुन शहरबासीलाई आग्रह गरे ।
सोही वडाका वडाध्यक्ष दीपक केसीले फिर्ता भएको जग्गाको अहिलेको बजार मूल्य ७ करोड रहेको भन्दै अब अन्य स्थानमा पनि छुटफुट रहेका यस्ता जग्गा सार्वजनिकीकरण गर्ने काममा निरन्तर लाग्ने बताए ।
रासस
प्रतिक्रिया