२५ कार्तिक २०८१, आइतबार | Mon Nov 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्गममा सामुदायिक स्वास्थ्य एकाइ



१८ फागुन, बागलुङ ।
स्वास्थ्य सेवामा सहज पहुँच बढाउने उद्देश्यले तमानखोला गाउँपालिका–२ बोङ्खानीमा खोलिएको सामुदायिक स्वास्थ्य एकाइ प्रभावकारी भएको छ ।

सहज रुपमा स्वास्थ्य सेवा पाउनबाट वञ्चित सर्वसाधारणलाई लक्षित गरी अघिल्लो महिना सो एकाइ सञ्चालनमा ल्याइएको हो । एकाइबाट बोङ्खानीका ७०० घरधुरीले प्रत्यक्ष लाभ लिइरहेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको पहुँचभन्दा बाहिर रहेका क्षेत्रमा सरकारले स्वास्थ्य एकाइ स्थापना गर्ने गरेको छ । यस्ता एकाइहरु साविकमा रहेका स्वास्थ्य संस्थामा पायक नपर्ने र ठूलो भूगोलमा बसोबास गर्ने सर्वसाधारणलाई लाभदायी बन्ने गरेका छन् । बोङ्खानीमा एकाइ स्थापनाका लागि अघिल्लो आवमै स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएको थियो ।

स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि बोङ्खानी र आसपास क्षेत्रका बासिन्दा हर्षित छन् । दुर्गमका बासिन्दालाई एकाइले ठूलो राहत दिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । “ठूलो र विकट भूगोल भएका कारण साविकका स्वास्थ्य संस्थामा सबैको सहज पहुँच थिएन,” अध्यक्ष बुढाले भने, “अब स्वास्थ्य सेवा पाउनबाट कोही पनि वञ्चित हुनु पर्दैन ।”

अध्यक्ष बुढाले जग्गा व्यवस्थापन गरेर उक्त स्वास्थ्य एकाइलाई प्रसूति सेवासहितको स्वास्थ्य संस्था बनाउने योजना रहेको जानकारी दिए । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार सामुदायिक स्वास्थ्य एकाइ स्वास्थ्य चौकीको सानो रुप हो ।

एकाइमा एकजना अहेब र एकजना अनमी गरी दुई जना स्वास्थ्यकर्मी रहने व्यवस्था गरिएको छ । स्वास्थ्यचौकीले दिने प्रायः सबै सेवा एकाइबाट प्रदान हुने बोङ्गादोभान स्वास्थ्य चौकीका प्रमुख जीवनकुमार थापाले बताए ।

स्वास्थ्य मन्त्रालयले प्रत्येक वर्ष आवश्यकता हेरिकन सामुदायिक स्वास्थ्य एकाइ स्थापनाका लागि स्वीकृत प्रदान गर्ने गरेको छ । तमानखोला गाउँपालिका–४ को लाम्मेलामा पनि सामुदायिक स्वास्थ्य एकाइ स्थापनाका लागि माग गरिएको गाउँपालिकाका अध्यक्ष बुढाले बताए । जिल्ला जनस्वास्थ्य कार्यालयले माग र आवश्यकता हेरेर एकाइ खोल्न मन्त्रालयमा सिफारिस गर्ने गरेको छ ।

जिल्लाका अन्य ठाउँमा पनि सामुदायिक स्वास्थ्य एकाइ खोल्न पहल भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । हुग्दिसशिर, दर्लिङ, निशी, पैयुँपाटा, जैदी, बोवाङको ढोरपाटन, ग्वालीचौर, खुङ्खानी र अमरभूमिको भुस्कातमा यसअघि नै एकाइ सञ्चालनमा आएका छन् । स्थानीयवासीकै सक्रियतामा सामुदायिक स्वास्थ्य सेवा एकाइ सञ्चालन समिति गठन गरेर त्यसको व्यवस्थापन र सञ्चालन गर्ने गरिएको छ ।
रासस

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार ००:००