११ फागुन, रामपुर– पाल्पा ।
जिल्लाको माथागढी गाउँपालिका ५, गोठादीका वडाध्यक्ष रनबहादुर खाम्चालाई वडाध्यक्षको जिम्मेवारी पाएपछि उनी सरकारी कर्मचारी जस्तै दिनहुँ व्यस्त हुन्छन् ।
वडा कार्यालयमा बसेर सिफारिस लेख्ने कामकाजमा दिन बितेको पत्तो नभएको खाम्चा बताउछन् । बिहान १० बजे कार्यालयमा पुगेपछि सिफारिस लेख्ने कार्यमा उनलाई भ्याइनभ्याइ हुन्छ ।
“कर्मचारीभन्दा अघि नै कार्यालयमा पुगेको हुन्छु, अहिले सिफारिस लेख्ने काममा व्यस्त छु, जनताको सेवा गर्न पाउँदा निकै खुशी लागेको छ” उनले भने । उनले सार्वजनिक बिदाको दिन पनि नभनी जनताको सेवामा समर्पित हुँदै आएका छन् ।
निस्दी गाउँपालिका १ का वडाध्यक्ष पूर्णबहादुर खाँण पनि कार्यालयमा बसेर सिफारिस लेख्नमै व्यस्त हुन्छन् । “वडाध्यक्षको जिम्मेवारी सम्हालेपछि सिफारिस लेख्ने कामले एकछिन पनि फुर्सद छैन” उनी भन्छन् । “दिउँसो कार्यालयमा बसेर सिफारिस लेख्ने, बिहान साँझ वडाको विकास निर्माणका काममा व्यस्त छु, जनता र गाउँको विकास गर्नैप¥यो” उनले भने ।
जन्म, मृत्यु, विवाह, बसाइँसराइ बाहेक अन्य नागरिकता, मालपोत लगायतका धेरै प्रकृतिका सिफारिस वडाध्यक्षले नै गर्नुपर्दछ । कामको जिम्मेवारी गाउँपालिकाका अध्यक्ष, नगरप्रमुखलाई भन्दा वडा अध्यक्षलाई बढी हुन्छ ।
तर त्यही वडाध्यक्षलाई बजेटसम्बन्धी पूर्ण अधिकार नभएको तानसेन नगरपालिका ६ का अध्यक्ष सागर महर्जन बताउछन् । कामको जिम्मेवारी बढी, बजेट अधिकार शून्यजस्तै भएका कारण अबको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवार हुने व्यक्ति पाउन कठिन हुने उनको भनाइ छ ।
जनप्रतिनिधिले गर्ने सिफारिसको काम कर्मचारीबाट भयो भने जनप्रतिनिधिले सिफारिस लेख्ने समय विकास निर्माणको काममा दिन सकिने रैनादेवी गाउँपालिकाका वडाध्यक्ष जीवनाथ पोखरेल बताउछन् ।
वडाध्यक्षलाई कार्यालय समय अवधिभर सिफारिस लेख्ने, हस्ताक्षर गर्ने कामले एकछिन फुर्सद हुँदैन । वडा कार्यालय व्यवस्थापनको लागि पनि बजेट अत्यन्त कम भएको र वडाबाटै खाता सञ्चालनको व्यवस्था नहुँदा वडाध्यक्षलाई काम गर्न अप्ठ्यारो भएको उनीहरुको गुनासो छ ।
रासस
प्रतिक्रिया