३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला वन कार्यालय भक्तपुरद्वारा सडक निर्माणमा रोक, स्थानीय आन्दोलित



रमेश गिरी
१० फागुन, भक्तपुर ।
भक्तपुर, काभ्रे र ललितपुर जोड्ने सडक विस्तार कार्य रोकिएको छ । जिल्ला वन कार्यालय भक्तपुरले वन क्षेत्रमा सडक परेको भन्दै रोक लगाएपछि सूर्यविनायक नगरपालिका ८ सिपाडोलको घ्याम्पेडाँडादेखि पार्टी भञ्ज्याङ सम्मको २ किलोमिटर सडक विस्तारका कार्य रोकिएको हो ।

सडक विस्तारका क्रममा वन क्षेत्रमा पर्ने ५० मिटर सडक निर्माणमा कार्यालयले रोक लगाएपछि आक्रोशित स्थानीयले उक्त सडकमा दुई दिनदेखि प्रदर्शन गर्नुका साथै जिल्ला वन कार्यालयमा गएर ज्ञापनपत्र समेत बुझाएका छन् ।

स्थानीय होटल व्यवसायी रामसुन्दर बकेले सिपाडोलको पाइलटबाबा आश्रम हुँदै घ्याम्पेडाँडादेखि, रानीकोट, आशापुरी लगायतका क्षेत्र पर्यटनको आकर्षण बनिरहेको बेला सडक विस्तारमा अवरोध हुँदा भक्तपुर र काभ्रेका बासिन्दालाई समस्या पर्नुका साथै भर्खरै शुरु भएको पर्यटन व्यवसाय समेत धरासायी बन्दै गएको बताए ।

उनले भने “गत वर्ष घ्याम्पेडाँडा सम्म पक्की सडक बनाउन सरकारले १२ लाख बजेट दिएको थियो, पछि हामी व्यवसायी र स्थानीयले १० लाख थपेर २२ लाखमा सडक बनायौँ, अहिले त्यसभन्दा माथिको सडक फराकिलो पार्न खोज्दा रोकियो, यसले भक्तपुर र काभ्रेका बासिन्दालाई समस्या पारेको छ ।”

डोजर लगाउँदा निस्किएको ढुंगा र गिट्टीलाई सडक तल खसाल्दा बस्ती र व्यक्तिको जग्गा नै पुरिने भएकाले स्थानीय तहको सहमति समेतमा ढुंगा र गिट्टीलाई बाहिर लगेर व्यवस्थापन गर्दा वन कार्यालयले बाहिर लान नपाइने र वन क्षेत्र कटान गर्न नपाइने भन्दै रोक लगाएको छ ।

वन क्षेत्रमा सडक विस्तारका क्रममा केही ढुंगा र ग्राबेल निस्किएको बताउँदै उनले त्यसलाई अन्यत्र लैजान रोक लगाएपछि ६ देखि ८ मिटरको चौडा सडक विस्तार बन्द भएको हो ।

आशापुरी महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष टुल्कु लामाले पाटी भञ्ज्याङमा एक बाबाका लागि आश्रम बनाउन वन कार्यालयले सेपिलोपाखा सामुदायिक वनको जग्गा दिनुका साथै सयाैँ रुख फँडानी गरेर बाटो विस्तार गर्न दिएको तर विकासका लागि सडक विस्तार गर्दा वनले रोकेको आरोप लगाए ।

उनले भने “एउटा बाबाका आश्रम बनाउन वन क्षेत्रमै कैयौँ रोपनी जग्गा दिने । आश्रममा जान कैयौँ रुख फडानी गरेर बाटो लैजान दिने वन कार्यालयले भक्तपुर, काभ्रे र ललितपुर जोड्ने सडक विस्तारमा भने रोक लगाएको छ, अब हामी चुप लागेर बस्दैनाैँ ।”

स्थानीयले बासिन्दाले आफ्नै पहलमा घ्याम्पेडाँडादेखि पार्टीभञ्ज्याङ आशापुरीसम्मको दुई किलोमिटर सडक विस्तार कार्य सञ्चालन शुरु गरेका हुन् । यो सडक विस्तारसँगै आशापुरी, काभ्रेको नैचाल हुँदै पनौती, कुशादेवी र ललितपुरको लाकुरी भञ्याङ जान सहज हुने हरियाली सामुदायिक वनका सचिव एवं काभ्रे नैचालका बासिन्दा लोकनाथ सापकोटाले बताए ।

उनका अनुसार यो सडक विस्तार भए काभ्रे र सिपाडोलका माथिल्लो तामाङ बस्तीलाई निकै छोटो समयमा बजार जान आउन सकिने छ ।

विसं २०५५ जेठ २४ गते स्थानीय रेञ्जपोष्ट र तत्कालीन गुण्डु गाविस सचिव महेश बस्नेतले १८ फिट चौडाइ रहेको कच्ची सडक निर्माण गर्न स्वीकृति दिएपछि सडकको ट्र्याक खुलेको थियो । यति पुरानो सडक अहिले विस्तार गर्न लाग्दा पनि रोक्नु बिडम्बना भएको स्थानीय होटल व्यवसायी दीप थुलुङले बताए ।

वडा नं ८ का वडाध्यक्ष किरण थापाले सडक नहुँदा यो क्षेत्रका स्थानीयलाई नगरपालिका सम्म पुग्न पनि सास्ती भएको बताए । उनले भने “वडा कार्यालयको समन्वयमा स्थानीयले आफ्नै पहलमा सडक विस्तार कार्य शुरु गरेका हुन्, यहाँ स्थानीय तहको लाखौँको बजेट खर्च जोगिएको छ, स्थानीयकै पहलमा समानान्तर कन्स्ट्रसनको सहयोगमा सडक निर्माणको कार्य अगाडि बढाइएको हो, तर वन कार्यालयले रोकिदिँदा विकास रोकिएको छ ।”

जिल्ला वन कार्यालयका प्रमुख फणीन्द्र पोखरेलले वन विभागसँग स्वीकृति नै नलिई रानीकोट सामुदायिक वनको क्षेत्रबाट सडक विस्तार गर्न थालेकाले रोकेको बताए । विभागसँग स्वीकृत नलिई जंगल क्षेत्रबाट सडक लैजान नपाइने उनको भनाइ थियो ।
रासस

प्रकाशित मिति : १० फाल्गुन २०७४, बिहिबार ००:००