४ फागुन, लहान ।
सिरहा जिल्लालाई प्रदेश नं २ कै पहिलो खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ । जिल्लाका ९९ दशमलव ६९ प्रतिशत भन्दा बढी घरधुरीमा शौचालय निर्माण भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिरहाका प्रमुख राजेश कुशवाहाले जानकारी दिए ।
प्रमुख कुशवाहाका अनुसार सिरहाको कूल एक लाख १८ हजार ५९८ घरधुरीमध्ये हालसम्म एक लाख १८ हजार २३६ घरधुरीमा शौचालय निर्माण भइसकेको छ । बाँकी रहेको करिब १ प्रतिशत अर्थात ३६२ घरधुरीमा पनि शौचालय निर्माण अन्तिम चरणमा पुगेको उनले बताए ।
शौचालय बनाउन बाँकी रहेको घरधुरीमा पनि छिट्टै शौचालय निर्माण भएपछि जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिने प्रमुख कुशवाहाले बताए ।
उनका अनुसार, प्रदेश नं २ का आठ जिल्लामध्ये सिरहामा ९९ दशमलव ६९ प्रतिशत, सप्तरीमा ९६ प्रतिशत, धनुषामा ८७ प्रतिशत, महोत्तरीमा ८२ प्रतिशत, सर्लाहीमा ८२ प्रतिशत, बारामा ६७ प्रतिशत, पर्सामा ८३ प्रतिशत र रौतहटमा ८७ प्रतिशत घरधुरीमा शौचालय निर्माण भएका छन् ।
यसरी हेर्दा सबै भन्दा बढी सिरहामै शौचालय निर्माण भइसकेकोले २ नं प्रदेशकै पहिलो खुल्ला दिसामुक्त जिल्ला सिरहालाई नै बनाउने तयारी रहेको प्रमुख कुशवाहाले बताए ।
हालसम्म सिरहाको १७ वटा स्थानीय तहमध्ये ११ वटा स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भइसकेको र ६ वटा स्थानीय तह पनि खुल्ला दिसामुक्त घोषणाको अन्तिम चरणमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लहान सिरहाले जनाएको छ ।
सिरहाको धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, कल्याणपुर नगरपालिका, गोलबजार नगरापलिका, कर्जन्हा नगरपालिका, अर्नामा गाउँपालिका, बरियारपट्टी गाउँपालिका, लक्ष्मीपुर पत्तारी गाउँपालिका, सखुवानन्कारकट्टी र औरही गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भइसकेको प्रमुख कुशवाहाले बताए ।
उनले बाँकी रहेको सिरहा नगरपालिका, लहान नगरपालिका, मिर्चैया नगरपालिका, विष्णुपुर गाउँपालिका, नरहा गाउँपालिका, औरही गाउँपालिका, नवराजपुर गाउँपालिका र भगवानपुर गाउँपालिकाको अधिकांश वडा खुल्ला दिसामुक्त घोषणा भइसकेको र घोषणा हुनबाँकी रहेका वडामा पनि शौचालय निर्माणको काम अन्तिम चरणमा पुगेको प्रमुख कुशवाहले जानकारी दिए ।
सरसफाइको दृष्टिकोणले सिरहा जिल्ला मुलुकमै ७४ आैँ स्थानमा रहेको राष्ट्रिय तथ्यांकले देखाएको छ । मुलुकमै सिरहाको सरसफाइको अवस्था अत्यन्तै कमजोर रहेकाले त्यसमा सुधारल्याई २०१५ भित्रमा सिरहा जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइए पनि विभिन्न कारणले हालसम्म पनि सिरहा खुल्ला दिसामुक्त हुनसकेको छैन ।
रासस
प्रतिक्रिया