२४ माघ, सुरुङ्गा– झापा ।
बाह्रदशी गाउँपालिका–३ का वीरेन्द्रप्रसाद राजवंशी जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाध्यक्षका प्रत्यासी थिए ।
राजवंशी समुदायको बाहुल्य भएको सो क्षेत्रमा सहयोगी र लोकप्रिय भएकै कारण उनी निर्वाचित पनि भए । राजवंशी अहिले त्यस क्षेत्रको विकास निर्माणको काममा अग्रसर छन् । उनको जनप्रतिनिधिका माझ बेग्लै पहिचान छ । बेग्लै पहिचान हुनुको पछाडि उनको विगतको पेशागत संलग्नताको प्रमुख भूमिका रहेको छ ।
बाह्रदशी–३ का राजवंशी भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा अध्ययनरत थिए । विसं २०४४ मा तत्कालीन शाही नेपाली सेनामा प्रवेश गरेका उनी २०५१ सालदेखि २०५५ सम्म नारायणहिटी राजदरबारको सुरक्षामा संलग्न थिए । त्यसको केही समयपछि उनी तत्कालीन राजा वीरेन्द्रको सुरक्षामा खटिए ।
नेपाली सेनाको हवल्दार मेजर पदमा रहेर उनले पूर्व राजाको सुरक्षासँगै नारायणहिटी दरबारको सेवाको अनुभव पनि लिए । विसं २०५५ मा सूर्यविनायकमा उनको सरुवा भएपछि दरबारबाट बाहिरिएका राजवंशीले त्यसपछि पाँच वर्षमात्र नेपाली सेनामा काम गरे ।
विगतको अनुभवले गाउँमा अहिले उनको बेग्लै पहिचान कायम भएको हो । योसँगै उनले राजवंशी शब्दकोष भण्डार तयार गर्दा राजवंशी भाषा अनुवाद समितिमा समेत रहेर काम गरे । राजवंशी शब्दकोष भण्डार अंग्रेजी र नेपालीमा समेत अनुवाद गरिएपछि उनी त्यस क्षेत्रमा मात्र नभई बाहिर पनि उत्तिकै लोकप्रिय छन् ।
नेपाली सेनाको जागिर त्यागेपछि गाउँ फर्किएका उनी अहिले गाउँलेको सेवामा सर्मपित छन् । पन्ध्र वर्षसम्म सेनामा जागिरे जीवन बिताएका राजवंशीका लागि समाज सेवा नौलो थियो । सेनामा जागिरे हुँदा कालीबक्स गणअन्तर्गतको इञ्जिनियरिङ गणमा कार्यरत रहँदा धुन्चेदेखि सोमदाङसम्मको १०५ किलोमिटर सडक निर्माण र नौ महिनासम्म शैन्य तालीम केन्द्रमा रहँदा त्रिशूलीको सडक निर्माण गरेको सम्झदै उनीले गाउँमै विकास निर्माणका काम अघि बढाउने निर्णय गरे । अन्ततः उनी आफ्नै गाउँको मुहार फेर्न लागि परेका छन् ।
राजवंशीको अहिले पनि पहिलो काम विकास नै हो । उनी हरदम हर समय विकास निर्माणका काममा केन्द्रित रहन्छन् । राजवंशीले सुनकोशी बचत तथा ऋण सहकारी संस्थाको पाँच वर्षसम्म अध्यक्ष पदमा रहेर काम गरे । विकासको दृष्टिकोणले पछि परेको राजगढलाई नमूना गाउँ बनाउने सोचका साथ चुनावी मैदानमा होमिएका उनी अन्तत सफल भएरै छाडे ।
राजवंशीको अहिलेको पहिलो प्राथमिकतामा छ सडक निर्माण । सडक निर्माणसँगै विद्युतीकरण, सिँचाइको व्यवस्था, स्वच्छ खानेपानी र कृषकलाई व्यावसायिक कृषि प्रणालीमा लागेर आत्मनिर्भर बनाउनु नै हो । जंगली हात्तीको उपद्रोले राजगढवासीलाई आक्रन्त पारेपछि उनी अहिले अलमलमा परेका छन् । दिन प्रतिदिन हात्तीको उपद्रोका कारण राजगढवासीको धनजनको सुरक्षा कसरी गर्न सकिएला भन्ने ठूलो चिन्ता छ राजवंशीलाई ।
राजवंशी सबैका साझा नेता हुन् । दलगत स्वार्थभन्दा माथि उठेर उनले गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीसँग मिलेर वडा नम्बर ३ को राजगढ बजारलाई स्मार्ट सिटी बनाउने अवधारणा अघि सारेका छन् । गाउँपालिकाले सो कार्यका लागि १ करोड १० लाख बजेट विनियोजन गरेको छ ।
“राजगढ बजारलाई व्यवस्थित गर्न डिपीआर तयार भइरहेको छ,” उनले भने । १० करोड ६९ लाखको लागतमा फैंदारघाट सिँचाइ आयोजना तथा १६ करोडको लागतमा राजगढ खानेपानी आयोजना सञ्चालनमा छ । एउटा आर्थिक वर्षमा झण्डै ३० करोड बजेट एउटै वडामा भित्र्याएर विकास निर्माणका लागि देखाएको तदारुकताका कारण राजवंशी अहिले सबैका साझा नेता बनेका छन् ।
रासस
प्रतिक्रिया