२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लेगुवाघाट हुँदै संखुवासभाको मुढे शनिश्चरे जोड्ने ग्रामीण कृषि सडक सञ्चालनमा



२२ माघ, धनकुटा ।
धनकुटाको लेगुवाघाट हुँदै संखुवासभाको मुढे शनिश्चरे बजार जोड्ने १२ किलोमिटर ग्रामीण कृषि सडक सञ्चालनमा आए सँगै स्थानीयवासी हर्षित भएका छन् ।

ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना परियोजनाले दुई वर्षअघि निर्माण थालेको पाँच मिटर चौडा १२ किलोमिटर लम्बाइ रहेको सडकमा यात्रुवाहक र ढुवानीका साधन सञ्चालनका लागि अनुमति दिएपछि स्थानीयवासीमा खुशी छाएको छ ।

परियोजनाले जिल्ला प्राविधिक कार्यालयमार्फत १६ करोड ८२ लाख लागतमा निर्माणाधीन सडकको नालीबाहेक माटो कटिङ, टेवापर्खाल, मोडसुधार, ग्राभेल लगायत अन्य स्ट्रक्चरको ९५ प्रतिशत काम सम्पन्न भए सँगै स्थानीयवासीले यातायात सञ्चालन गर्न थालेको जिल्ला प्राविधिक कार्यालय धनकुटाले जनाएको छ ।

सडक सञ्चालनमा आएपछि धनकुटाकाको महालक्ष्मी नगरपालिकाभित्र पर्ने चानुवा, डाँडागाउँ, जितपुर, मारेक कटहरे, लेगुवा लगायत संखुवासभा जिल्लाका विभिन्न गाउँपालिकाका बासिन्दालाई कृषि उपज बजार लैजाने एवं यातायात सेवा सहज भएको स्थानीयवासी लेखनाथ पौडेलले बताए ।

ग्रामीण क्षेत्रमा उत्पादन हुने अदुवा, अलैँची, दूध, तरकारी एवं खाद्यन्न बाली संखुवासभाको मुढे शनिश्चरे र धनकुटाको लेगुवाबजार हुँदै बाहिर निकासी सहज बनेको पौडेलको भनाइ छ ।

सवारी साधन सञ्चालन भएसँगै धनकुटा, तेह्रथुम र संखुवासभा जिल्लाको संगममा रहेको पर्यटकीय स्थल तीनजुरे मिल्के जलजले गुराँस अवलोकन गर्न एवं मध्य पहाडी लोकमार्गमा जोड्ने यस क्षेत्रको सबैभन्दा छोटो सडक बनेको स्थानीयवासी बताउँछन् ।

संखुवासभाबाट धनकुटाका उत्तरी क्षेत्र र भोजपुर जिल्ला दक्षीणी भेगतर्फ जान छोटो दूरीको सडक उपयोगी एवं सहज हुने महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए ।
रासस

प्रकाशित मिति : २२ माघ २०७४, सोमबार ००:००