२५ कार्तिक २०८१, आइतबार | Mon Nov 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मदिरा बिक्री वितरण र १६ वर्षमुनिका बालबालिकालाई मोबाइल प्रयोगमा रोक



१९ माघ, लहान ।
अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ । साथै, बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न बालबालिकालाई मोबाइल प्रयोगमा रोक लगाउनेसमेत निर्णय गरेको छ ।

कल्याणपुर नगरपालिका–५ का वडाध्यक्ष दीपेन्द्र यादवको अध्यक्षतामा बिहीबार बसेको सर्वपक्षीय बैठकले कल्याणपुर नगरपालिका वडा नं ४, ५ र ६ मा मदिरा बिक्री वितरण, प्रयोग तथा भोजपुरी भाषाको अश्लील गीत बजाउन रोक लगाउने निर्णय गरेको हो ।

जाँडरक्सी सेवन तथा भोजपुरी भाषाका अश्लील गीतका कारण समाजमा विकृति विसंगति, होहल्ला, झैझगडा हुने गरेकाले त्यसलाई नियन्त्रण गरी समाजमा शान्तिपूर्ण वातावरण बनाउन मदिरा बिक्री वितरण र प्रयोगमा निषेध गरिएको बडा नं ६ का वडाध्यक्ष मोतिबुल राइनले जानकारी दिए ।

तीनै वडा क्षेत्रभित्रका पसलमा रहेका जाँड रक्सी माघ मसान्तभित्र बिक्री वितरण गरिसक्न निर्देशन दिँदै फागुन १ गतेदेखि पसलमा मदिरा पाइएमा पहिलोपटक पसलेलाई ५ हजार र प्रयोगकर्तालाई २ हजार जरिवाना गर्ने निर्णय गरिएको वडाध्यक्ष राइनले बताए ।

बैठकले तीनवटै वडामा अश्लील खालका भोजपुरी गीत बजाउन रोक लगाउँदै निर्णय विपरीत भोजपुरी गीत–सङ्गीत बजाएमा ५ हजार जरिवाना गर्ने निर्णय गरिएको समेत जानकारी दिइएको छ ।

बैठकले १६ वर्षमुनिका युवा–युवतीलाई मोबाइल र मोटरसाइल प्रयोग गर्न रोक लगाइएको र निर्णय विपरीत मोबाइल र मोटरसाइकल प्रयोग गरेको पाइएमा पहिलो पटक ५०० जरिवाना गर्ने निर्णय गरिएको वडाध्यक्ष राइनले जानकारी दिए ।

कल्याणपुर नगरपालिकालाई नै मदिरामुक्त बनाउने लक्ष्यअनुरुप पहिलो चरणमा तीन वटा वडालाई मदिरा बिक्री वितरण र भोजपुरीको अश्लील गीत बजाउन निषेध गर्ने निर्णय गरिएको वडाध्यक्ष राइनको कथन छ । सर्वपक्षीय बैठकमा जनप्रतिनिधि, स्थानीय व्यापार संघका पदाधिकारी, स्थानीय सुरक्षा निकायका प्रमुख तथा समाजसेवीको उपस्थिति रहेको थियो ।
रासस

प्रकाशित मिति : १९ माघ २०७४, शुक्रबार ००:००