२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पारिश्रमिक निर्वाचन क्षेत्रका वडामा खर्च गर्ने प्रदेश सांसद दवाडीको घोषणा



८ माघ, गोरखा ।
गोरखाको निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा क्षेत्र ख बाट विजयी भएका सांसद तथा नेपाली कांग्रेसका नेता प्रकाशचन्द्र दवाडीले प्रदेशले उपलब्ध गराउने पारिश्रमिक निर्वाचन क्षेत्रभित्र सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेका छन् ।

गोरखामा पत्रकार सम्मेलन गर्दै सांसद दवाडीले भने, “सांसदलाई राज्यले उपलब्ध गराउने सेवा तथा सुविधा व्यक्तिगत रुपमा प्रयोग गर्दिन । मलाई जिताएर पठाएका मतदाता र निर्वाचन क्षेत्रमा हुने सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्छु ।”

गोरखाको सिरानचोक, अजिरकोट र सुलिकोट गाउँपालिकाबाट दवाडी निर्वाचित भएका थिए । सिरानचोकमा ८ वटा, अजिरकोटमा ५ वटा र सुलिकोटमा ८ वटा वडा रहेका छन् । प्रत्येक महिनाको पारिश्रमिक फरक–फरक वडाका सामाजिक कार्यमा खर्च गर्न सहयोग गर्ने दवाडीले जानकारी दिए ।

प्रदेश सांसदको सेवा, सुविधा के–कस्तो हुने भन्ने यकिन भइसकेको छैन । “जनताको जीवनस्तर उकास्न सहयोग गर्छु, सामाजिक सेवामा तल्लीन रहन्छु र सधैँ जनताकै सेवामा रहन्छु भन्ने अठोट गर्दै जनतासंग भोट मागेर विजयी भएँ” दवाडीले भने, “आफूले पाउने सेवा सुविधा जनताकै लागि समर्पित गर्ने इच्छा हो ।”

गोरखामा दवाडी राजनीतिक नेताको रुपमा भन्दा समाजसेवीका रुपमा चिनिन्छन् । लामो समयदेखि उनीले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएर शिक्षा क्षेत्रमा योगदान पु¥याउँदै आएका थिए ।
रासस

प्रकाशित मिति : ८ माघ २०७४, सोमबार ००:००