२६ पुस, फलेवास– पर्वत ।
गाउँमै चिस्यान केन्द्र खुलेपछि किसानले राहत पाएका छन् । पाँच वर्षदेखि व्यावसायिक रुपमा दूध उत्पादन गर्दै आएका फलेवास नगरपालिका ७ लिमिठाना र वडा नं १० कुर्घाका किसानले गाउँमै चिस्यान केन्द्र खुलेपछि राहत पाएका हुन् ।
स्थानीय कृषक बुद्धिराम शर्मा भन्छन्, “अब दूधको भाँडो बोकेर तीन घण्टा हिँड्दै कुस्मा बजार पुग्नुपर्ने बाध्यता छैन । दूध फाट्ला भन्ने चिन्ता पनि छैन ।” घर नजिकै दुग्ध चिस्यान केन्द्र स्थापना भएपछि दूध खेर नजाने भन्दै शर्मा लगायत किसान खुशी भएका छन् ।
विगतमा किसानले दूध बिक्री गर्न निकै समस्या खेप्नु परेको थियो । अब दूध बोकेर कुश्मा बजार धाउनुपर्ने समस्या हटेको छ । चिसापानी सहकारी संस्थाले गाउँमै चिस्यान केन्द्र स्थापना गरेको हो । उक्त गाउँका करिब ५० घरधुरीले चिस्यान केन्द्रमा दूध जम्मा गर्न थालेका सहकारीका अध्यक्ष युवराज शर्माले बताए ।
“एकजना किसानले दैनिक १५ देखि ४० लिटरसम्म दूध जम्मा गर्छन्,” उनले भने । किसानले बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म चिस्यान केन्द्रमा दूध संकलन जम्मा गर्ने गरेका छन् । किसानले प्रतिलिटर दूधको ३५ देखि ४८ सम्म पाउने गरेका छन् ।
दुग्ध चिस्यान केन्द्र सञ्चालनका लागि ४० लाख खर्च भएको सहकारीका सचिव शोभा क्षेत्रीले बताए । सांसद विकास कोषमार्फत तीन लाख, जिल्ला पशुसेवा कार्यालयले ६ लाख तथा ३१ लाख किसानबाट संकलन गरिएको हो । “चिस्यान केन्द्रबाट मासिक ५ लाख बराबरको दूध बिक्री भइरहेको छ,” उनले भने ।
लप्सी बेच्न भ्याइनभ्याई
पर्वतमा यतिबेला कृषकलाई लप्सी बेच्न भ्याइनभ्याई छ । फलेवास नगरपालिका–४ मुडिकुवाका थानेश्वर भुसालले सामुदायिक खाद्य प्रशोधन उद्योग खोलेर लप्सी खरिद गर्न थालेका छन् ।
उद्योगले माडा, क्याण्डी, अचार, तितौरा, जाम, अमिलो धूलोलगायत परिकार उत्पादन गर्न थालेको छ । उद्योगले बोटबाटै लप्सी खरिद गर्न थालेको छ । उद्योगका सञ्चालक भुसाल भन्छन्, “गत वर्ष प्रशोधनपछि ४० टन विभिन्न परिकार बनाइएको थियो । यस वर्ष ६० टन पुग्ने आशा छ ।”
गत वर्ष उनले क्याण्डी, जाम र तितौरा करिब १० क्विन्टल अमेरिका निर्यात गरेका थिए । खरिदकर्ताले कात्तिक–मंसिरमा बोटै ठेक्कामा लिने गरेका छन् । उनीहरुले प्रतिकिलो २५ देखि ३० मा लप्सी खरिद गर्ने गरेका छन् । औसतमा एउटा बोटमा करिब चार क्विन्टलसम्म लप्सी फल्ने गरेको किसान बताउँछन् ।
रासस
प्रतिक्रिया