अच्युत रेग्मी
२४ पुस, बाह्रबिसे– सिन्धुपाल्चोक ।
भोटेकोशी नदीको दुवै किनारामा ठूलो तटबन्ध निर्माण शुरु भएपछि बाह्रबिसेका जनता खुशी भएका छन् । हरेक वर्षात्मा भोटेकोशी नदी पस्ने डरले सुत्न नपाउने गरेका बाह्रबिसे नगरपालिका ४ का जनता तटबन्ध निर्माणले खुशी भएका हुन् । भोटेकोशीको दुवै किनारामा पक्की घर निर्माण भएका छन् ।
नदीको किनारामा ढलान गरेर पक्की घर बनाएका ३६ वर्षीय हरि श्रेष्ठ वर्षात लागेपछि आफूहरु सामान लिएर अर्कोको घरमा जानुपर्ने बाध्यता रहेकोमा अहिले नदी तटबन्ध बनेपछि साह्रै खुशी देखिएका छन् ।
“हरेक वर्ष वर्षात्को बेला नदी बढेर सुत्न सकिँदैनथ्यो, तटबन्ध निर्माण भएपछि थोरै भए पनि राहत भएको छ,” उनले भने । पानी परेसंगै नदी बढेर घर बगाउने डरले कयौँ दिन जाग्राम बसेको उनको अनुभव छ ।
भोटेकोशीले हरेक वर्ष बर्खायाम लागेसंगै घर, खाद्यान्न, पशुपक्षी, लत्ताकपडा र मानिससमेत बगाउने गरेको थियो । नदीको करिब ५० मिटर नजिक घर भएका ६० वर्षीय कृष्णमाया शाक्य वर्षात् समयमा नदी बढेर सुत्न नसकिने गरेको अनुभव बताउछिन् ।
“अहिलेसम्म विसं २०३६, २०५८ को बाढी र गोरखा भूकम्पको बेला तीनपटक नदी ठूलो भएर भाग्नुप¥यो,” उनी भन्छिन् । भोटेकोशी नदीले गत वर्ष बाह्रबिसेका राजकुमार कोजुको घर बगाएको थियो ।
यसैगरी नदीको किनारामा घर भएका ५७ वर्षीय गणेशमाया श्रेष्ठको पीडा पनि उस्तै छ । वर्षात् समयमा पानी परेको बेला बास खोज्न पटकपटक अरुको घरमा गएको उनको अनुभव छ ।
यी केवल प्रतिनिधिपात्र मात्र हुन् । उनीहरुजस्ता नदीको किनारामा घर भएका थुप्रै मानिस भोटेकोशी पीडित छन् । पहाडी भेगमा कोशी क्षेत्र पहिरोको एकदमै जोखिम क्षेत्रको रुपमा लिइन्छ । पहिरो जाँदा नदी बढ्ने र ठूलो जनधनको क्षति हुने गरेको छ ।
भूगर्वविद् डा कृष्ण देवकोटा भौगोलिक दृष्टिकोणले सिन्धुपाल्चोक जिल्ला अत्यन्त जोखिमपूर्ण क्षेत्रको रुपमा रहेको बताउछन् । “भीरपाखा र नांगा डाँडा रहेकाले यो क्षेत्रमा अत्यन्त धेरै बाढीपहिरो जाने गरको छ,” डा देवकोटा भन्छन् ।
बाह्रबिसेको करिब चार किलोमिटर दक्षिण जुरे क्षेत्रमा विसं २०७१ साउन १७ गते ठूलो पहिरो गएको थियो । जुन पहिरोका कारण २४ घण्टासम्म नदी थुनिएको थियो भने पहिरोले तत्कालीन माङ्खा गाविसका दर्जनौँ मानिसको मृत्यु भएको थियो ।
नदीको किनारामा तटबन्धन गर्न सिँचाइ मन्त्रालयअन्तर्गत रहेको जल उत्पन्न व्यवस्थापन विभागले ४ करोड १ लाख बजेट विनियोजन गरेको छ । सोही क्षेत्रका तत्कालीन सांसद एवं वर्तमान सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पहलमा नदी व्यवस्थापनका लागि उक्त रकम विनियोजन गरिएको थियो ।
“लामो समयदेखि सुनकोशी नदीले दिएको पीडाको समाधानका लागि उक्त क्षेत्रको तटबन्धको काम शुरु गरिएको हो,” मन्त्री बस्नेतले भने ।
सिन्धुपाल्चोकको प्रमुख व्यापारिक केन्द्रका रुपमा समेत बाह्रबिसे बजारलाई लिइन्छ । भूकम्पपछि तातोपानी नाका सञ्चालनमा नआउँदा यहाँको व्यापार व्यवसायमा कमी आएको छ । बाह्रबिसे नगरपालिकाको जनसंख्या २६ हजार ४१८ छ ।
रासस
प्रतिक्रिया