२५ कार्तिक २०८१, आइतबार | Mon Nov 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बूढानीलकण्ठ मन्दिरको पुनःनिर्माणमा ढिलाइ



प्रकृति पाण्डे र अनामिका फुयाँल
२० पुस, काठमाडौँ ।
भूकम्पबाट क्षतिग्रस्त बूढानीलकण्ठ मन्दिर परिसरको भौतिक संरचना पुनःनिर्माणमा ढिलाइ भएको छ । पर्याप्त बजेट विनियोजन नहुँदा पुनःनिर्माणमा ढिलाइ भएको हो । विसं २०७२ को भूकम्पका कारण मन्दिर परिसरका धर्मशाला, शिव मन्दिर, सरस्वती मन्दिर तथा पर्खाल पूर्णरुपमा क्षति भएको छ ।

पुनःनिर्माणका लागि मन्दिर व्यवस्थापन समितिले २० करोड लागत प्रस्तावसहित नगरपालिकामा प्रस्ताव पठाएको भए पनि बजेट निकासा नभएको मन्दिरका मठाधीश स्वामी निगमानन्दले बताए ।

बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धवप्रसाद खरेलले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बजेट निकासा नगरेको हुँदा मन्दिरलाई रकम उपलब्ध गराउन नसकिएको बताए ।

बूढानीलकण्ठ मन्दिरमा शेषनागमाथि विष्णुको पूर्ण कदको मूर्ति शयन गरेको देख्न सकिन्छ । उक्त मूर्ति लिच्छवि राजा विष्णु गुप्ताका पालामा विक्रम संवत् ६९७ मा बनेको शिलालेखमा उल्लेख छ ।

बूढानीलकण्ठको प्रस्तरमूर्ति बाइस फिट लम्बा र १२ फिट चौडाको छ । नेपाली प्रस्तरमूर्तिमा यसभन्दा ठूलो अर्को मूर्ति छैन । नारायण अर्थात् विष्णु क्षीर सागरमा रहेको कल्पना गरिएको सो मूर्ति शेषनागका पाशमा शैय्या गरी शेषनागकै एघार शिरबाट सुरक्षित भई शङ्ख, चक्र, गदा र पद्म हातमा बोकेर आनन्द र शान्त स्वरुपमा शयन गरिरहेको देखिन्छ ।

ऐतिहासिक महत्वको उक्त मन्दिरमा काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट भक्तजन आउने गर्छन् । उक्त मन्दिरमा विशेष गरी हरिबोधिनी एकादशी र हरिशयनी एकादशीका दिन विशेष मेला लाग्छ । त्यस समयमा उक्त मन्दिरमा दर्शन गरी मेला भर्नाले पारिवारिक सुख शान्ति तथा समृद्धि प्राप्त हुने जनविश्वास छ ।

मन्दिरमा छाया दर्शनको विशेष महत्व रहेको छ । “सुतेको अवस्थामा रहेका विष्णुको मूर्ति पानीमा हुबहु अवस्थामा देखिन्छ, जुन विज्ञानका लागि चुनौतीको विषय हो” मठाधीश निगमानन्दले भने ।
रासस

प्रकाशित मिति : २० पुस २०७४, बिहिबार ००:००