१३ पुस, बाबियाचौर– म्याग्दी ।
करिब सात करोड लगानीमा बेनी नगरपालिका ९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा पूर्वाधार निर्माण गरिएको छ । पूर्वाधार निर्माणका लागि विभिन्न सरकारी निकाय, गैरआवासीय नेपाली संघ, व्यक्ति र संघसंस्थाले सहयोग गरेका थिए ।
गलेश्वर क्षेत्रको विकासका लागि दश वर्षे गुरुयोजना तयार गरिएको छ । सो गुरुयोजना कार्यान्वयनको क्रममा हालसम्म मठमन्दिर, धर्मशाला, सत्संग भवन, वृद्धाश्रम र स्वास्थ्य चौकी भवन निर्माण गरिएको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए ।
यसैगरी, कालीगण्डकी किनार स्नान गर्न जाने पदमार्ग, क्याम्पिङस्थल, खेलमैदान, बालउद्यान, प्रवेशद्वार, शिवलिङ्ग, तटबन्ध लगायत पूर्वाधार निर्माण गरिएको छ । भक्तजनको चाप बढेकाले धर्मशालाको क्षमत्ता वृद्धिका लागि नयाँ भवन निर्माणको तयारी गरिएको कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए ।
धर्मशालाको भवन निर्माणका लागि काठमाडौँको रेडिसन होटलका सञ्चालक गोविन्द दास श्रेष्ठसंग सम्झौता भएको छ । श्रेष्ठले ५० लाख लागतमा भवन बनाउने सम्झौता गरेका छन् । यसैगरी कालीगण्डकी नदी किनारबाट पम्पिङ गरी मन्दिर परिसरमा पानी तानेर स्नान गर्ने व्यवस्था गरिने भएको छ ।
खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय म्याग्दीमार्फत सञ्चालन हुने उक्त योजनाको सर्वेक्षण गरी कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । जसको ३० लाख लागत अनुमान गरिएको छ । गलेश्वरदेखि पर्वतको जलजला गाउँपालिका २ मा अवस्थित राममन्दिर जोड्ने झोलुङ्गेपुल निर्माणको तयारी भएको छ । गलेश्वर हुँदै पौलत्स्य आश्रम जोड्ने पदमार्ग निर्माण गर्ने योजना अघि बढाइएको छ ।
कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरको पूजाआजा र दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । द्वापरयुगमा सतीदेवीको गला पतन भएकाले गलेश्वर नामाकरण भएको उक्त क्षेत्र हिन्दु तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वारका रुपमा चिनिन्छ ।
साउन महिनाको सोमबार, शिवरात्रि र बालाचतुर्दशी पर्वमा विशेष मेला लाग्ने गलेश्वर मन्दिरमा दैनिक पूजाआजा हुने गरेको छ । मन्दिरमा भक्तजनले चढाउने भेटी, दान र चन्दा पूर्वाधार निर्माणमा परिचालन गरिएको कोषले जनाएको छ ।
आव २०७३/७४ मा ४३ लाख भेटी संकलन भएको गलेश्वर मन्दिरमा चालु आवको साउनदेखि मंसिरसम्म ४२ लाख ८८ हजार भेटी संकलन भएको छ । ज्येष्ठ नागरिक आश्रम, धर्मशाला र संस्कृत पाठशाला सञ्चालन गरेको कोषको हालसम्मको आम्दानी तीन करोड नौ लाख ४३ हजार रहेको छ ।
रासस
प्रतिक्रिया