१० पुस, मनाङ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएपछि मनाङको विकासका लागि मनाङवासीमा आफ्नो ठाउँको विकासको लागि चासो बढेको छ । भौगोलिकदृष्टले दुर्गम क्षेत्रको ‘क’ वर्गमा परेको यस जिल्लाको विकास कता जाने र कस्तो किसिमको विकास आवश्कता परेको भन्ने यहाँका मानिसमा छलफल हुने गरेको छ ।
यहाँका मानिसको मुख्य पेशा कृषि, होटल व्यवसाय र पशुपालन हो । करिब तीन हजार मिटरदेखि चार हजार ६०० मिटर उचाइमा गाउँ बस्ती रहेका छन् । यहाँ विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल चार हजार ६०० मिटर उचाइमा रहेको आइस लेक, गंगापूर्ण ताल लगायतका थुप्रै हिमताल मनाङका पर्यटकका रोजाइमा पर्दछन् । त्यस्तै नेपालकै महत्वपूर्ण पदमार्गको रुपमा रहेको अन्नपूर्ण पदमार्ग यसै क्षेत्रमा रहेकाले पनि अझ थप आर्कषणमा रहेको छ ।
यस क्षेत्रलाई बेँसीशहर चामे सडकले जोडेको छ । मनाङ प्रवेशको एउटा मात्रै मोटर बाटो भएता पनि यो बाटो साँगुरो र अग्ला भिर काटेर बनाइको हुनाले बाटो आफैँमा जोखिम रहेको छ ।
जोखिम मोल्दै भए पनि पर्यटक कर्मचारी लगायत सम्पूर्ण मनाङवासी आवतजावत गरिरहेका छन् । मनाङलाई समृद्ध बनाउन जलविद्युत्, वैकल्पिक पदमार्ग र सडक विस्तारको आवश्यकता रहेको स्थानीय होटल व्यवसायी अनिता लामाले बताउछिन् ।
मनाङ विश्व मानचित्रमा प्रख्यात पर्यटन क्षेत्रका रुपमा चिनाइसकेको भएता पनि आन्तरिक पर्यटक धेरै भित्र्याउनुमा नै मनाङको भविश्य उज्वल हुने पर्यटन व्यवसायी संघका अध्यक्ष विनोद गुरुङको भनाइ छ ।
रासस
प्रतिक्रिया