१० पुस, म्याग्दी ।
म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरिएको छ । छ वर्ष अगाडि टान पोखराको नेतृत्वमा जिल्लाका सरोकारवालाको पहलमा स्थलगत अवलोकनबाट पहिचान गरिएको यस पदमार्गमा निरन्तररुपमा पूर्वाधार निर्माणको काम भइरहेको छ ।
मनोरम हिमशृंखलाको दृष्यावलोकन गर्न सकिने सो पदमार्गमा पर्यटन कार्यालय पोखरामार्फत विनियोजन भएको १० लाख बजेटबाट पदमार्गअन्तर्गत चिमखोलाको ससलधारा क्षेत्रमा करिब एक किलोमिटर पदमार्ग निर्माण गरिएको हो ।
झण्डै दुई महिना धौलागिरि हिमालको फेदीतिर अस्थायीरुपमा बसोबास गरी २८ वटा पदमार्ग निर्माण गरिएको धौलागिरि आइसफल पदमार्ग निर्माण समितिका अध्यक्ष धु्रवकुमार पाइजाले जानकारी दिए ।
रघुगंगा नदीको किनारमा ससलधारा कोखेभिरदेखि कालीबराह खोलासम्म पदमार्ग निर्माण गरिएको छ । अक्करे भिरमा डोरीको सहायताले भिर फोरेर पदमार्ग निर्माण गरिएको छ । “अझै केही भिरमा पदमार्ग खन्नुपर्नेछ, त्यसको लागि सरकारी तवरबाट सुरक्षित हुने सामग्रीको आवश्यकता छ,” अध्यक्ष पाइजाले भने ।
अधिकांश ठाउँमा ढुंगाको सिँढी चिनेर पदमार्ग बनाइएको छ । पाँच वर्षको अवधिमा भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्ग निर्माण गरिएको छ । रुइसेदेखि दहबुकीसम्मको पदमार्गलाई अझै स्तरोन्नति गर्नुपर्ने अवस्था छ भने दहबुकीदेखि कालीबराह खोलासम्म सिँढी चिनेर पदमार्ग बनाइएको छ ।
कुइनेमंगले र चिमखोलातर्फको भूभागमा पर्ने धौलागिरि हिमालको आधार शिविरमा पुग्नको लागि अब झण्डै तीन किलोमिटर पदमार्ग निर्माण गर्नुपर्ने छ । त्यसमा झण्डै ५० मिटर जति भूभाग कडा चट्टानको भिरलाई काटेर बनाउनुपर्ने पाइजा बताउछन् । कालीबराहको दोभानबाट कालीबराहताल हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटोलाई स्तरोन्नति गर्नुपर्ने छ ।
पदमार्ग निर्माण योजना अगाडि बढे पनि नक्सांकन र थप पर्यटन पूर्वाधार निर्माण नहुँदा पदमार्ग सञ्चालनमा ढिलाइ भएको धौलागिरि आइसफल पदमार्ग निर्माण तथा व्यवस्थापन समितिका सल्लाहकार देवेन्द्र केसीले बताए ।
कुमारी पदमार्गको रुपमा रहेको यस क्षेत्रमा प्रारम्भिक चरणको पदमार्ग निर्माण गर्ने काम अन्तिम चरणमा पुगेकाले नक्सांकन गरी सूचनामूलक संकेतबोर्ड राख्ने र खानेपानी, भ्यु टावर, लज लगायतका पूर्वाधार निर्माणतर्फ ध्यान दिनुपर्ने सल्लाहकार केसीले बताए ।
रासस
प्रतिक्रिया